डुडुवा पूर्णखोपसँगै दिगोपना गाउँपालिका
नेपालगञ्ज – बाँके जिल्लाको डुडुवा गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपनामा जिल्लाकै पहिलो पालिका बनेको छ । पालिकाभित्र रहेका सम्पूर्ण बालबालिकाले सबै किसिमका खोपहरु लगाएपछि पालिकालाई जिल्लाकै पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार, डुडुवा पहिला नै पूर्ण खोप गाउँपालिका घोषणा भएपनि दिगोपना नभएकाले आजदेखि जिल्लाको पहिलो पालिकाको रुपमा दिगोपना भएको हो ।
पूर्णखोप सुनिश्चितता तथा दीगोपनाको घोषणा गर्दै अध्यक्ष नरेन्द्र चौधरीले गाउँपालिकाका कुनैपनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहुन् भनेर विशेष अभियानमुलक कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले निशुल्क औषधी उपचार, प्रयोगशाला जाँच, एम्बुलेन्स सेवालगायतका स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको भन्दै सेवाबाट बञ्चित भएका नागरिकलाई समेत सेवा उपलब्ध गराएको बताउनुभयो ।
उहाँले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिएर पालिकाले काम गरिरहेको भन्दै स्वास्थ्यका क्षेत्रमा कुनै पनि कमि कमजोरी नहुने गरी र सेवाग्राहीलाई सहज तरिकाले सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिनुभयो ।
जन्मदेखि १५ महिनासम्मका १ हजार ४ सय ४१ जना बालबालिकाले नियमित रुपमा सबै प्रकारका खोपहरु प्राप्त गरेको स्वास्थ्य शाखा प्रमुख बुढाले बताउनुभयो । गाउँपालिकाको वार्ड नं. १ देखि ६ वडासम्मका १६ देखि २३ महिनाका जम्मा ७ सय ५१ जना बालबालिका नियमित खोप लिनबाट छुटेका थिए । ती बालबालिकाहरुलाई पनि घरदैलो गरेर खोप लगाएपछि पालिकाभित्र रहेका उमेर पुगेका सबै बालबालिकाले खोप लिएका छन् ।
जिल्लाकै पहिलो पूर्णखोप पालिका भएपछि पूर्ण खोप जिल्ला समितिले दिगोपनाको प्रमाणपत्र प्रदान गरेको छ । स्वास्थ्य कार्यालय बाँकेका कोल्ड चैन निरीक्षक जनक गिरीले उक्त प्रमाणपत्र पालिका प्रमुख चौधरीलाई हस्तान्तरण गर्नुभएको थियो । घोषणा कार्यक्रममा कार्यपालिका सदस्य लिलावति यादव, ढोडे पासी, सुष्मा यादव, सदस्य नेतराम मौर्य लगायतको उपस्थिति रहेको थियो ।
यही फागुन ३० गतेभित्र बाँके जिल्लालाई पूर्ण खोप तथा दिगोपना घोषणा गरिसक्नुपर्नेछ । फागुन १५ गतेभित्र जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप तथा दिगोपना घोषणा हुन स्वास्थ्य कार्यलय बाँकेका खोप फोकलपर्सन भेषराज शर्माले बताउनुभयो । उहाँका अनुसार, ३ वटा पालिका पूर्ण खोप र दिगोपना दुबै घोषणा हुन बाँकी छन् भने ४ वटा पालिका खोपको दिगोपना मात्र घोषणा हुन बाँकी रहेका छन् ।