कोरोनाबाट बैजनाथका ७६ वर्षीय बृद्धको मृत्यु
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा कोरोनाबाट ७६ वर्षीय पुरुषको मृत्यु भएको छ ।
पिसाव सम्बन्धी समस्याले गर्दा भेरी अस्पताल, नेपालगञ्जमा ल्याइएका बाँके बैजनाथ गाउँपालिका वडा नं. २ का ७६ वर्षीय पुरुषलाई उपचार पश्चात घर जाने बेलामा शंका लाग्दा कोरोना जाँच गरिएको थियो । उनको रिपोर्ट पोजिटिभ आयो ।
भोजन नलीको क्यान्सरका पुराना बिरामी बृद्धलाई पुस १८ गते कोरोना भएपछि अस्पताल पुनः भर्ना गरिएको थियो । १५ गते अस्पताल ल्याइएका उनलाई १८ गते घर लैजाने तयारी गरिएको थियो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, बृद्धको सोमबार अपरान्ह ५ बजे मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।