हमालको प्रशिक्षणमा साताव्यापी नाट्य कार्यशाला

नेपालगञ्ज – नेपालगञ्जमा पहिलो पटक नाट्य, चलचित्र कलाप्रति चासो र रुचि राख्नेका लागि नेपालगञ्जमा प्रशिक्षणको आयोजना गरिएको छ ।
आजदेखि हुने प्रशिक्षणमा बाँके, बर्दिया, दाङ्ग, कैलाली, सुर्खेतलगायतका जिल्लाहरुबाट नाट्यमा रुचि राख्ने करीब ३ दर्जन युवाहरुको सहभागिता रहने आयोजकले जनाएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नेपालगञ्जमा सात दिने कार्यशालाको आयोजना गर्न लागेको हो ।
कार्यशालाको मुख्य प्रशिक्षकका रुपमा नेपालगञ्ज निवासी चर्चित चलचित्र कलाकार वीरेन्द्र हमाल रहनु भएको छ । नाट्य कला क्षेत्रमा राष्ट्रिय स्तरमा स्थापित हमालले नेपालगञ्जमा कला क्षेत्रमा रुचि राख्नेहरुको प्रतिभा निखार्न उनीहरुका लागि प्रशिक्षणको आयोजना गर्न लागेको बताउनु भएको छ ।
बाल्यकालदेखि नै नेपालगञ्जमा कलाकारिताको क्षेत्रमा आवद्ध नेपालगञ्ज घरवारी टोलमा जन्मिनु भएका हमाल नेपाल साँस्कृतिक प्रतिष्ठान, राष्ट्रिय नाचघरको नाट्य विभागका प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । वि.सं २०४० सालमा कलाकारिताको सीप सिक्न काठमाडौं लागेका हमालले छात्रवृत्ति पाएपछि भारत, चीन, कोरिया लगायतका मुलुकमा गई प्रशिक्षण लिनु भएको छ र उहाँद्वारा प्रशिक्षित कलाकारहरु नेपालकै चर्चित कलाकारको रुपमा अहिले स्थापित भएका छन् । आफ्नो जन्मथलो नेपालगञ्जमै कलाकारिता र विशेषगरि नाट्य कलाको विकासका लागि आगामी दिनहरु समर्पण गर्ने अठोट लिएको बताउँदै हमालले निकट भविष्यमा नाट्य फेष्टिवलको आयोजना गर्नुका साथै अवधी संस्कृति र कलाको जगेर्ना र प्रवद्र्धनका लागि पनि काम गर्ने योजना भएको मंगलबारको पत्रकार सम्मेलनमा हमालले सुनाउनु भयो ।
स्थानीय कलाकार सुन्दर गुरुङ्गले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ प्रशिक्षक हमालले बाँकेबाटै राष्ट्रिय स्तरका कलाकार रंगकर्मीहरु उत्पादन गर्ने आफ्नो लक्ष्य रहेको सुनाउनु भयो । उहाँले अब नेपालगञ्जमै कलाकार तथा रंगकर्मीहरु जन्माउने र थियटर फेष्टिबल आफ्नो लक्ष्य रहेको सुनाउनु भयो ।
सो अवसरमा बोल्दै वरिष्ठ पत्रकार पूर्णलाल चुकेले आफैमा समृद्ध भएको अवधी कला संस्कृतिको जगेर्ना र प्रवद्र्धनका लागि पनि प्रतिष्ठानले सोंच्नुपर्ने बताउनु हुँदै स्थानीय युवाहरुमा लुकेको अन्तरनिहीत कला र प्रतिभालाई उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गर्नुभयो । त्यस्तै वरिष्ठ लोक गायक कमल विके निर्मोही, चलचित्र पत्रकार राम चन्द्र पौडेल लगायतले नेपालगञ्जमा नाट्य कार्यशाला आयोजना हुनु गर्व र आफैमा एकदमै महत्वको विषय भएको बताएका थिए ।
नाट्य कार्यशालाको उद्घाटन बुधवार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपनि वरिष्ठ कलाकार हरिहर शर्माको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम वीच हुँदैछ ।


error: यो सुविधा उपलब्ध छैन !