संघर्ष, अनुभव र चुनौतीको संगालो
साँच्चिकै अछामको त्यो कैलाश माथिको त्यो रमणीय बस्ती मानसपटलमा घुम्यो, जहाँ कुनै बेला एउटा गैरसरकारी संस्थामार्फत सर्भेमा खटिएको थिएँ । अनि सम्झना आयोे रामारोशनको मेरो त्यो रमनीय बसाई । सारा गाउँ अनि साँच्चिकै सुन्दर बस्ती । तर वर्षा याममा पहिरोको जगजगीमा बिउँझँदै सुत्नु पर्ने त्यो गाउँ । धेरै पटक गाउँ स्थानान्तरणका विषयमा पनि चर्चा नचलेको होइन ।
यति सम्झनु पर्ने प्रसंग त्यसै आएको होइन, जब चौकीदारदेखि वकिलसम्म पुस्तक क्रियटिभ बुक्सबाट उपलब्ध भयो । त्यसैले म अछामको नोष्टाल्जियामा पुगेको हुँ । यो कृति अब बजारमा उपलब्ध छ, सबैका लागी । मानिसका आ–आफ्ना भोगाई सबैका हुन्छन् । कथा र व्यथा सबैका हुन्छन् । संघर्ष, अवसर र चुनौती पनि हुन्छन नै तर ब्यक्ति ब्यक्तिका फरक फरक हुन्छन् । पुस्तक लेख्नु ब्यक्तित्वको दस्तावेजिकरण मात्रै होइन, अर्को पुस्तालाई अघिल्लो पुस्ताको उपहार पनि हो ।
मैले पुस्तकका प्लटलाई सन् २००४ ताका मेरो पहिलो सुदूरपश्चिम भ्रमणको अछाम पुगेको स्मृतिसँग जोडें । अनि पछिल्लो पटकको अधिवक्ता लोकबहादुर शाहसँगको सिद्धार्थ रेष्टुरेन्टमा भएको भेटलाई केलाए । अछामदेखि नेपालगञ्जको यात्राका बीचमा कैयन जंघार पार गरेर यहाँ पुगे होलान् लेखक शाह । त्यो कौतुहलता मेटाउन पुस्तक उपलब्ध भएको दिन नै मैले यो पुस्तक पढेर सकें ।
त्यसअघि क्रियटिभ बुक्सका टीएस ठकुरी र पुस्तक सम्पादन गर्ने मध्येका एक कुमार श्रेष्ठले मलाई पुस्तक लेखिंदै गरेको विषयमा केही कुरा सुनाएका थिए । मैले पुस्तक नपढेर टिप्पणी वा धारणा बनाउन मुनासीव ठानिन । कफिसँगै चुपचाप सुनि मात्रै रहें । पुस्तक सार्वजनिक गर्नु केही दिन पूर्व मैले लोकबहादुर शाहको ब्यक्तित्व माथि सरसर्ती आँखा दौडाए । जो यस क्षेत्रका चिरपरिचित अनुहार नै हुन्, एक सफल अधिवक्ता ।
कानुन व्यवसायी शाहको ब्यक्तिगत जीवनका अनेकन संघर्षलाई जस्ताको त्यस्तै पुस्तकमा उतारेको दाबी गर्नेमा शाह खरो रुपमा पुस्तकमा उत्रिन्छन् । आफ्नो बारेमा न कुनै बढाँइ चढाई छ न त कसैमाथि उति सारो आरोप नै छन् । पुस्तक सलल बगेको कैलाश खोला झैं शब्दमा बगेको छ, अनि अर्थमा शाब्दिक छ । मदिरापानका कारण उनले परिवारमा ब्यहोर्नु परेको समस्यादेखि एका विहानैको ब्रेक फाष्टमा श्रीमानको ह्वीस्की अफरदेखि जोइटिंग्रेको (जेटी) सम्मका अन्तरंग कुराहरु पुस्तकमा निर्धक्क लेखेका छन् । पुस्तक सम्पादनमा पनि खुवै मेहनेत गरिएको छ । तर विवाह अघि र पछिका कतिपय सन्दर्भहरुका सिलसिलेबार प्लटमा थप ध्यान दिनसक्नु पथ्र्यो भन्ने लाग्यो ।
रक्सीको बोतल भनेर किनेको चिज जव ड्राई एरियाको गन्तब्यमा रक्सीको बोतल भित्र टिम्बुर भरिएको भेटिन्छ भन्ने प्रसंगमा अधिवक्ता शालिकराम सापकोटाको रिफ्रेन्सले उक्त प्रसंगमाथि क्रसचेकमा उत्तीर्ण गराउँछ पुस्तकलाई । राप्देन लामाको घाँटी काटिदिन्छु भन्ने सन्दर्भमा वकिलहरुले के कस्ता धम्की खेप्नु पर्छ भन्ने कुरा देखाउन खोजेको छ । आफुले पैरवी गरेका मुद्दाहरुको प्रसंगलाई वेजोड रुपमा पुस्तकमा समावेश गरेका छन् शाहले । जस्तो की सुसाइट नोटमा म मरेको खबर गरिदिनु भन्ने सन्दर्भलाई पार्वती वलीको सुसाइट नोटमा मेन्सन गरेका छन् । पुस्तकमा मानबीय संवेदनाको उच्चतम प्रयोग हो यो । नेपाल बार एशोसियसनको राजनीतिक चक्रब्युका बारेमा पनि पुस्तकमा चनाखो भएर लेखेका छन् अधिवक्ता शाहले ।
पुस्तकको शुरुवातमै ‘कटुवाल दाइ’ नाम गरेका एकजना पात्र उपस्थित हुन्छन् । लेखकले उनको भूमिकालाई न्याय गर्छन् । उनलाई लेखकले सञ्चारकर्मीको उपमाले सम्बोधन गरेका छन् । उसो त अधिवक्ता शाहले वास्तविक जिन्दगीमा पनि थुप्रैलाई न्याय दिलाएका छन् । सुदूरपश्चिम क्षेत्रमा दलितमाथि हुने गरेको थिचोमिचोका सामाजिक कुरीतिका कुरालाई सप्रसंग पुस्तकमा जोडदार रुपले उठाइएको छ । सार्वजनिक चासोका विषयमा पनि अधिवक्ता शाह न्यायको पक्षमा वकालत गर्छन् । उदाहरणका रुपमा शक्ति पीठ बागेश्वरी मन्दिरको विषय समावेश छ ।
घर परिवारमा कान्ठा र भाउ भनेर बोलउँदा उनको नाम ईमबहादुर थियो । उमेर बढ्दै गर्दा उनै (कान्ठा) लोकबहादुरको नामले चिनिनि थाले । पुस्तकमा उनले आप्mनो नामको अर्थ खोजेका छन् । राजनीतिक रुपमा कठिन परिवेश, ब्यवस्थाका हिसाबले लोकतन्त्रदेखि सुदूरमा उनको नाम लोकबहादुर नै स्थापित भइसकेको थियो ।
कानुन ब्यवसायी भएकैले होला कतै कतै पुस्तकको भाषामा कानुनी गन्ध आउनु स्वाभाविकै हो । त्यस्को एउटा उदाहरणका रुपमा विवाहको प्रसंगमा शाह लेख्छन्, ‘विवाहलाई उमेर पुगेका युवा र युवतीबीच स्वतन्त्र सहमतिमा हुने सम्झौता मानिन्छ ।’
यो पुस्तक पढ्नु अघि मैले नोबल पुरस्कार विजेता गणितज्ञ जोन फर्बस नाशको बायोग्राफी सिल्भीया नशारले लेखेको पुस्तक ‘अ ब्युटिफूल माइण्ड’ पढेर सकेको थिएँ । जब शाहको यो कृति पढ्न शुरु गरें ‘छाउ गोठमा हुर्केको पुस्ता’ पढी सक्दा हाम्रो समाजको मनो विज्ञान, कुसंस्कार र रुढीवादी परम्पराले गाँजेको समाजप्रति दिक्दार लाग्यो । तर त्यही समाजबाट लोकबहादुर शाह पनि प्रतिनिधित्व गर्न सक्छन् भने समाज बदल्ने अभिभारा यस्तै कैयौं लोकबहादुरको काँधमा छ भन्ने अनुभूति भयो ।
सन् १९९८ मा प्रकाशति ‘अ ब्युटिफूल माइण्ड’ र २००१ म बनेको उहि नामको चलचित्रका दृश्य मानसपटलमा आउँछन् । त्यो किन भने अधिवक्ता शाह गणित विषय पढ्नबाट बच्नलाई कानुन विषयमा अध्ययन गर्न थालेको कुरा थाह पाएँ । अनि मलाई ‘अ ब्युटिफूल माइण्ड’का मयाथम्याटिसियन जोन नाशको पुस्तकले शाहको कानुन विषयको पढाई किन भनेर सोध्न मन लागेन, शाहले जे गरे ठिक गरे । ‘ल’ विषय लिएर अध्ययन गरेका शाहको लक्ष्य सफल कानुन ब्यवसायी हुनु भन्दा पनि गणित विषय छल्न कानुनको साहारा लिए, त्यही कानुनको साहाराले कैयौं पीडितलाई न्याय दिलाउने अधिवक्ता बनायो । गणित छल्ने त्यो उपाय पनि अरु कसैले सुझाईदिए । पुस्तकमा आप्mनो कमजोरीको यो विषय गजवले खुलेर लेखेका छन् ।
छाउपडी प्रथाको थिचोमिचो कै परिवेशमा छाउगोठमा जन्मिएका अधिवक्ता शाहले कानुन व्यवसायी बन्नु अघि र पछि उनले गरेका संघर्षका कुराहरुलाई सरल रुपमा पुस्तकमा मिसाएका छन् । आर्थिक रुपमा कमजोर अवस्था भएका आम नागरिकको कथा र ब्यथा भारतमा चौकीदारी गर्ने लाखौं लाख नेपालीको ब्यथाको प्रतिनिधिमूलक पात्रका रुपमा शाह पुस्तकमा भेटिन्छन् । भारतमा आफन्तहरुसँग चौकीदारी समेत गरेर अध्ययन गरेका शाहको पुस्तक चौकीदारदेखि वकिलसम्म दस्तावेजिकरणको गतिलो उदाहरण पनि हो । यो पुस्तक कानुन व्यवसायीका नव प्रवेशीहरुका लागी झनै सहयोगी हुने देख्छु ।
आफुलाई हार्न मन नलाग्ने स्वभावको ब्यक्तिका रुपमा शाहले पुस्तकमा जे लेखेका छन् त्यसले उनको अर्को पुस्तालाई उतिबेलाको समाज, मनोविज्ञान, आर्थिक अवस्था, शिक्षाको पहुँच, परम्परा, रुढीवादी सोंच र हाम्रो संस्कृतिका बारेमा बुझन मद्दत गरेको छ । पुस्तकले न्याय क्षेत्रमा रहेको बेतिथि, सर्वसुलभ न्याय र न्यायमा सहज पहुँच जस्ता विषयलाई सप्रसंग उठाएको छ ।
त्यति मात्रै नभएर पुस्तकमा कानुन व्ययसायीहरुका संगठनका आन्तरिक कचिगंलका कुरा पनि भेटिन्छन् । सबै भन्दा सुन्दर पक्ष पुस्तकमा लेखकले आफ्नो वाहवाही भन्दा पनि जीवनमा पटक–पटक झुट बोल्नु परेको विषयमा पश्चाताप गरेका छन् । अटोबायो ग्राफीको शैलीमा छ यो पुस्तक । पुस्तकमा शाहले आफ्ना कमजोरी र गल्तीलाई स्वीकारोक्तिका रुपमा लेख्ने आँट गर्नुलाई सम्मान गर्नै पर्छ । सरकारवादी मुद्दाको बहसमा मुगु पुग्दा अधिवक्ता शाहले बेहोर्नु परेको असुरक्षाको घटनाबाट कानुन ब्यवसायी र न्याय प्रणालीमाथि ठूलो प्रश्न खडा गरेको विषय पुस्तकमा समेटिएको छ ।
अधिवक्ता शाहको पहिलो बहस, आफ्नै विवाह तीन वर्ष लम्विएको विषयलाई मुल्तबीमा परेको विवाह भनेर उप शिर्षककमा प्रेम, सम्बन्ध, जिम्मेवारी, बाध्यता र विवाहका बारेमा हाम्रो मनोविज्ञानबारे स्पष्ट पार्छ ।
अन्त्यमा, शाहको यो पुस्तकले आगामी पुस्तालाई रिफ्रेन्स र अघिल्लो पुस्तालाई जिन्दगीका बारेमा केही लेखौं भनेर घचघच्याउन मद्दत गर्ने छ भन्ने लाग्छ । वास्तवमा यो पुस्तक एउटा ब्यूटीफूल रेकर्ड एण्ड वन्डरफूल एक्सपेरीन्सेज हो । जो हामी सबैको हुन्छ । फरक यति हो कि कतिले लेख्छन् अनि वर्षौसम्म यसको सुगन्ध महकी रहन्छ तर कतिको यतिकै हराएर जान्छ उसको भौतिक शरीरसँगै ।