भेरीमा ७२ बेडको कोरोना विशेष अस्पताल सञ्चालन
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा कोरोना विशेष अस्पताल सञ्चालनमा आएको छ ।
भेरी अस्पताल परिसरभित्र रहेको भवनमा दाताहरुसँग सहयोग जुटाएर ८ बेड आइसियुसहित ७२ बेडको कोरोना विशेष अस्पतालमा ल्याइएको मेसु डा. प्रकाश थापाले जानकारी दिनुभयो । अस्पतालका हरेक बेडमा अक्सिजन दिन सकिने व्यवस्था मिलाइएको छ ।
कोरोना विशेष अस्पतालमा करिव सय जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । भेरीमै कोरोना विशेष अस्पताल सञ्चालन भएपछि खजुराको क्यान्सर अस्पतालको कोरोना विशेष सेवा यतै सारिएको मेसु डा. थापाले जानकारी दिनुभयो ।
कोरोना विशेष अस्पतालको प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री बरालले कोरोनाविरुद्धमा प्रदेश सरकार लागि परेको बताउनुभयो । प्रदेश सांसदहरु आइपी खरेल, विजयबहादुर यादव, प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद गिरीलगायतको उद्घाटनमा उपस्थिति थियो ।
मेसु डा. थापाका अनुसार, भेरीको कोरोना विशेष अस्पतालमा लक्षण देखिएका कोरोना पोजिटिभलाई मात्रै राखिन्छ ।