जानकीले क्वारेन्टाइन बनायो, बैजनाथमा तयारी
नेपालगञ्ज – जानकी गाउँपालिकाले १५ बेडको क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ । पालिकाले मानपुरस्थित नेरा प्राविमा क्वारेन्टाइन सञ्चालन गरेको हो ।
जानकीका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले भारत या जोखिम ठाउँबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा राखिने जानकारी दिनुभयो ।
सरकारले लकडाउन हटाएपछि र क्वारेन्टाइनमा रहेकाहरु घरतर्फ गइसकेपछि जानकीले क्वारेन्टाइन बन्द गरेको थियो । लकडाउन खुलेपछि भारतबाट आएकाहरु सिधैं घर जाने गरेका थिए ।
जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले हरेक पालिकाले २५-२५ बेडको आइसोलेसन केन्द्र र क्वारेन्टाइन यथास्थितिमा राख्नु पर्ने निर्णय गरेपछि क्वारेन्टाइन बन्द गरिसकेका जानकी र बैजनाथ गाउँपालिकालाई दबाब परेको हो ।
बैजनाथ गाउँपालिकाले बुधबार नै आकस्मिक बैठक बसेर क्वारेन्टाइन र आइसोलेसन सेन्टर सञ्चालनका लागि निर्णय गर्ने तयारी गरेको छ । गाउँपालिकाका प्रमुख मानबहादुर रुचालले क्वारेन्टाइनमा रहेकाहरु घर गएपछि खाली भएकाले क्वारेन्टाइनहरु बन्द गरेको बताउनुभयो । उहाँले फेरि क्वारेन्टाइन सञ्चालन गर्नु भनिएकाले बुधबार बैठक बसेर कहाँ राख्ने, कसरी सञ्चालन गर्ने भन्ने विषयमा निर्णय हुने जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जिल्लाका अरु पालिकामा क्वारेन्टाइन सञ्चालनमै रहेको बताउनुभयो । ‘दुई वटा पालिकामा थिएनन्, त्यहाँ पनि सञ्चालन हुँदैछ, फोकलपर्सन श्रेष्ठले भन्नुभयो ।
भारतमा दैनिक ठूलो संख्यामा कोरोना संक्रमित फेला परिरहेका छन् । भारतबाट आउने नेपालीहरु सिधैं घरमा जादा जोखिम बढ्ने भएकाले उनीहरुलाई पहिले पालिकाले क्वारेन्टाइनमा राख्नु पर्ने दबाब परिरहेको छ । भारत तथा जोखिमयुक्त ठाउँबाट आएकाहरु सिधैं घरमा जादा समुदायमा कोरोना देखिने जोखिम बढेको छ । नेपालगञ्जका चोक बजारमा गरिएको परीक्षणमा कोरोना देखिनुलाई त्यसकै उपज मानिएको छ ।