सहकारी पीडित पुगे प्रशासन
नेपालगञ्ज – करोडौ रुपैया हिनामिना भएको सहकारीका अध्यक्ष हरदेवबक्स चौधरी पक्राउ परेपछि बचतकर्ताको एक समूह जिल्ला प्रशासन कार्यालयमा पुगेको छ ।
फरार रहेका सहकारीका अध्यक्ष नै पक्राउ परेपछि आफ्नो रकम पाउने आशा गरेका बचतकर्ताहरु जिल्ला प्रशासन कार्यालयमा पुगेर भागेका अरुलाई पनि समात्न दबाब बढाएका छन् । बचतकर्ताहरुले बनाएको संघर्ष समितिका संयोजक विजय गुप्तासहितको टोली प्रशासनमा पुगेर अब कसरी जाने भन्ने विषयमा छलफल गरेका हुन् ।
सहकारी वित्तीय विकास संस्था लिमिटेडमा ४३ करोड रुपैयाबढी हिनामिना भएपछि ४१ जनालाई प्रतिवादी बनाएर कारबाही प्रक्रिया अघि बढाइएको छ । प्रहरीले ६ जना समातेकोमा चार जना थुनामा छन् भने दुई जना धरौटीमा छुटेका छन् । यो बीचमा आफै २७ जना अदालतमा उपस्थित भएका छन् ।
फरार रहेका अरुलाई पनि छिटो पक्राउ गरेर आफ्नो बचत फिर्ता पाउने वातावरण बनाउन बचतकर्ताले बारम्बार दबाब बढाइरहेका छन् ।