घर फर्किएका नेपालीलाई नाकामै तयारी खाना
नेपालगञ्ज – भारतबाट आएका नेपालीलाई नेपालगञ्ज नाकामा तयारी खाना र बाटोमा पिउन पानी दिएर पठाउने गरिएको छ ।
घर फर्किएका नेपालीलाई नाकामा दुई वटा बिस्कुट, एउटा स्याउ, दुई सय ग्राम नमकिन र एउटा मिठाई रहेको तयारी खाना दिन शुरु गरिएको हो । यसका साथै एक बोत्तल पानी, माक्स र साबुन दिएर पठाउने गरिएको छ । उनीहरुलाई बाटोमा पिउनका लागि गाडीमै जारमा पानीको व्यवस्था गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा प्लान इन्टरनेशनलको सहयोगमा बाँके युनेस्को क्लवले बिहीबारदेखि नेपालगञ्ज नाकामा यस्तो व्यवस्था गरेको हो । नाकामा आइपुगेका नेपालीको नाम ठेगाना टिप्ने र कुन जिल्लामा जाने हुन् त्यसको व्यवस्थापन सुरक्षा निकायले गरिसकेपछि उनीहरुलाई तयारी खाना, पानी, माक्स, साबुन र गाडीमा जारको पानीको व्यवस्था गरेर पठाउने युनेस्को क्लवका रवि तुलाधरले जानकारी दिनुभयो ।
प्रदेश सांसद कृष्णा केसी, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, सुरक्षा निकायका जिल्ला प्रमुखहरुको उपस्थितिमा घर फर्किएका नेपालीलाई सहयोगको शुरुवात गरिएको थियो । दुई बजेसम्ममा चार जनाले सेवा लिइसकेका छन् ।