मनोपरामर्शदाताको माग बढ्दै, कोहलपुरमा पनि शर्मा

नेपालगञ्ज – कोभिड संक्रमणको वृद्धि र हरेक वडामा क्वारेन्टाइन थपिएसँगै कोहलपुर नगरपालिकाले क्वारेन्टाइनमा बस्नेहरुकोे मनोसामाजिक स्वास्थ्यलाई ध्यानमा राखी मनोपरामर्शदाता नियुक्त गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका तथा खजुरा गाउँपालिकामा सेवा दिइरहेका मनोपरामर्शदाता भोजराज शर्मालाई पालिकाले नियुक्त गरेको हो ।
क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरुलाई बढी मनोवैज्ञानिक दवाब हुने भएकोले समय–समयमा मानसिक स्वास्थ्यको विषयमा सचेतना दिने र मनोसामाजिक समस्याका लक्षण देखिएमा तत्काल परामर्श दिने काम शर्माले गर्नेछन् । साथै नगरवासीले समेत आवश्यक भए फोनमार्फत् निशुल्क मनोपरामर्श लिन सक्ने बताइएको छ ।
कोभिड संक्रमणमा भइरहेको निरन्तर वृद्धि र त्यसमा पनि बाँके जिल्ला हट स्पट बन्नुले हरेक पालिकालाई क्वारेन्टाइनमा रहेका र आम वासिन्दाको मनोसामाजिक स्वास्थ्यप्रति चिन्ता बढेको छ । मनोवैज्ञानिक परामर्शले व्यक्तिको वर्तमान मानसिक अवस्था, तनाव, अवसाद, मनोत्रास वा अन्य मनोवैज्ञानिक समस्या भए÷नभएको एकीन गरी समाधानका लागि परामर्श दिने र मनोरोगको जोखिम न्यूनीकरणको काम गर्ने शर्माले बताउनुभयो । मनोवैज्ञानिक समस्यालाई समयमै पहिचान गर्न सकियो भने यसको तात्कालीक र दीर्घकालीन दुवै असरबाट जोगाउन सकिने शर्माको राय छ ।
कोरोना संक्रमणमा गुणात्मक वृद्धिले विश्वभरि मनोत्रास, डिप्रेसन, एन्जाइटी डिसअर्डर, सब्सटेन्स युज डिसअर्डर लगायत आत्महत्याको समेत जोखिम बढाएको समाचार आउने गरेका छन् । पालिकाले मनोपरामर्शकर्ता नियुक्त गर्नु अहिलेको परिप्रेक्ष्यमा अति नै महत्वपूर्ण हुने विज्ञहरुको राय छ ।


error: यो सुविधा उपलब्ध छैन !