खजुरा एग्रो फार्ममा लाखौंको क्षति

खजुरा – गएराती आएको अनियन्त्रित हावाहुरीले लाखौं रकम बराबरको क्षति पु¥याएको छ ।
हावाहुरीका कारण सबैभन्दा बढी कृषक मारमा परेका छन् । व्यवसायिक तरकारी उत्पादन गर्दै आएको खजुरा सितापुर गौघाटस्थित खजुरा नेचर गार्डेन एण्ड एग्रो फार्मको नेटहाउसमा ठूलो क्षति पुगेको छ । नेटहाउस प्रणालीमा आधारित तरकारी खेतीका लागि बनाइएका घरको जाली पूर्णरुपमा च्यात्तिएको छ । ‘नेट पूर्णरुपले धुजा धुजा भएर च्यात्तिएको छ, नेट छताछुल्ल ढंगले उडाइदिएको छ । तापक्रम सन्तुलन राख्ने नेटको अवस्था पनि त्यस्तै छ, हावाले सबै च्यातिदियो,’ एग्रो फार्मका प्रबन्धक पृथीराज बर्माले भन्नुभयो, ‘अर्गानिक तरकारी उत्पादन गर्दै आएका छौं, तर चारैतिरको नेट च्यातिदिएपछि खुला भएको छ, यसले अब किराहरुको आक्रमण हुने त्यत्तिकै डर छ । यस्तोमा बाली बिग्रने डर हुन्छ ।’
हावाहुरीले कति क्षति ग¥योे भन्ने जिज्ञासामा प्रबन्धक बर्माले भन्नुभयो, ’करिब ३५–४० लाखजतिको नोक्सान भएको छ । अब पुरानै अवस्थामा तयार गर्न यति रकम लागिहाल्छ ।’
दुईवटा नेटहाउस निर्माणमा ६० लाखमाथि लगानी गरिएको बर्माले जानकारी दिनुभयो । खजुरा एग्रो फार्मले डेढ बिगाह क्षेत्रफलमा थोपा सिंचाइ प्रविधि प्रयोग गरी दुईवटा नेटहाउसमा बिभिन्न प्रजातिका तरकारी उत्पादन गर्दै आएको छ । अहिले भेडे खुर्सानी, टमाटर, लौकी, बोडी, काँक्रो, हरियो खुर्सानी र भिन्डी दैनिक उत्पादनले लकडाउनका बेला स्थानीयलाई सजिलो भएको प्रबन्धक बर्माले जानकारी दिनुभयो । फार्ममा बाख्रा, लोकल कुखुरा, गिरिराज, लौकाट, टर्की समेत पालन गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !