नेपालगञ्जमा १२ हजारलाई राहत
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले १२ हजार बढी विपन्न परिवारलाई राहत वितरण गरेको छ । नगरभित्र बसोबास गर्ने विपन्न समुदायका दैनिक मजदुरी गर्ने, श्रमिक गरि १२ हजार ४ सय ६ परिवारलाई राहत वितरण गरिएको हो ।
कार्यपालिका बैठकको निर्णय अनुसार वडा कार्यालयले पहिलो चरणमा विपन्न परिवार छनौंट गरि वडा कार्यालयमार्फत राहत वितरण गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालले जानकारी दिनुभयो । प्रति परिवार १५ किलो चामल, ५ किलो पिठो, २ किलो दाल, एक लिटर तेल, एक किलो नुन र एउटा सावुन वितरण गरिएको थियो ।
टोल विकास समिति भएका वडामा समितिले विपन्न घरपरिवार पहिचान गरेको प्रबक्ता रिजालले बताउनुभयो । ‘वितरण भएको राहत पारदर्शी बनाउनका लागि उपमहानगरपालिकाको वेभसाईटमार्फत राहत प्राप्त गर्नेहरुको नाम सार्वजनिक भइरहेको छ, प्रबक्ता रिजालले भन्नुभयो,– सामाजिक दुरी कायम गरि राहत वितरण गरिएको छ ।’
कतिपय वडामा विपन्न परिवारले आफुहरु छुटेको भन्दै निवेदन दिएका कारण राहत प्राप्त गर्नेको संख्या अझै बढ्ने उपमहानगरपालिकाले जनाएको छ । पहिलो चरणमा स्थायी बसोबास गर्ने विपन्न समुदायलाई राहत वितरण गरिएकोमा दोस्रो चरणमा नगरक्षेत्रमा भाडामा बस्ने दैनिक ज्याला मजदुरी गर्ने श्रमिक वर्ग र विद्यार्थीका लागि राहत वितरण कार्य वडा कार्यालयमार्फत शुरु भएको छ ।