बन्द होला त रुपैडिहा नाका ?
नेपालगञ्ज – भारतले विदेशी नागरिकलाई प्रवेश निषेध गर्ने सूचना निकालेसँगै पश्चिमको व्यस्त नाका रुपैडिहा के होला भन्ने जिज्ञासा बढेको छ ।
भारतले जारी गरेको सात बुँदे सूचनाको चौथो बुँदामा उत्तराखण्डको वनवासा, उत्तरप्रदेशको सुनौली, विहारको रक्सौल र पश्चिम बंगालको रानीगञ्ज नाकाबाट मात्रै आवागमन गर्न पाउने जनाएपछि रुपैडिहा नाकाको आवागमनबारेमा प्रश्न उब्जिएको हो । यद्यपि, नेपाल सरकारले रुपैडिहा र जोगबनी नाका सञ्चालनका लागि कुटनीतिक पहल गरेको बुझिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नाका बन्दबारेमा अहिलेसम्म कुनै जानकारी नआएको बताउनुभयो । नाकाको अनुगमन÷निरीक्षण गर्न जमुनाहा पुग्नु भएका प्रमुख जिल्ला अधिकारी खड्काले सँगै रहेका सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरुले पनि अहिलेसम्म त्यस्तो कुनै सूचना नदिएको बताउनुभयो ।
नेपालगञ्ज उपहानगरपालिकाले जमुनाहा हेल्थ डेस्क राखेको छ । भारततिर पनि कडाई गरिएको छ । भारतको लखनऊमा समेत कोरोना भाइरसका विरामी देखिएपछि नेपालगञ्ज नाका जोखिमयुक्त मानिएको छ ।
रुपैडिहा नाका बन्द हुने हल्लाका बीचमा कालोबजारी बढ्न सक्नेतर्फ स्थानीय प्रशासन सचेत हुनु जरुरी देखिएको छ ।