मानव बेचबिखन : खोजतलासको निवेदन आउँछ, खोज्ने कसले ?
नेपालगञ्ज – सरकार र संघ संस्थाले हरेक वर्षको भदौ २० गते तामझामका साथ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मनाउँछन् । यो वर्ष ‘सामाजिक न्याय र आर्थिक सशक्तिकरण : मानव बेचबिखन निर्मूलन’ भन्ने नाराका साथ दिवस मनाइयो । नारा हरेक वर्ष परिवर्तन हुने गर्दछ ।
जतिजति बृहत र नयाँ तरिकाले दिवस मनाइदै छ, त्यसैगरी घरपरिवारको सम्पर्क नरहने अर्थात हराउने (जोखिममा पर्ने)को संख्या बढ्दो रहेको छ । मेरो मान्छे हराएकाले खोजतलास तथा उद्दार गरी पाऊ भन्नेको निवेदन बढ्ने क्रममै देखिन्छ ।
नेपालगञ्जको नाकामा रहेको माइती नेपाल, नेपालगञ्जमा आर्थिक वर्ष २०७९-८० मा ६ सय ६८ जनाले खोजतलास तथा उद्दारका लागि निवेदन दिएका छन् । त्यसमा २ सय २२ जना फेला परेका छन् । बाँकी कहाँ गए ? के गरिरहेका होलान् अत्तोपत्तो छैन ।
माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाका अनुसार, खोजतलास तथा उद्दारको निवेदन परेको ६ सय ६८ जनामा बाँकेको १ सय ७०, सुर्खेतको ८९, बर्दियाको ८०, दाङको ७८, जाजरकोटको ५५, दैलेखको ४९, सल्यानको ४२ वटा रहेका छन् ।
खोजतलास र उद्दारका लागि माइती नेपालसँगै प्रहरीमा निवेदन पर्छ । उद्दार भने हुन सकिरहेको छैन । संघ संस्थाले आफै समन्वय गरेर खोजतलास र उद्दार गरेका छन् । राज्यबाट उद्दार गर्ने संयन्त्र छैन । मेरो मान्छे खोजिदेऊ, उद्दार गरिदेऊ भने पनि राज्यसँग प्रभावकारी संयन्त्र नहुँदा उद्दार हुन सकिरहेको छैन । खासमा खोज्ने र उद्दार गर्ने कसले भन्ने प्रश्न उठ्ने गरेको छ ।
माइती नेपालले यो वर्ष भारतबाट १५ जनाको उद्दार गरेको छ । जसमा बर्दियाका ५, दोलखाका ३, सुर्खेत र दैलेखका २÷२, दाङ, बाँके र डडेल्धुराका एक÷एक जना रहेका छन् । कोइरालाले खोजतलासका निवेदन आएकामध्ये ८० प्रतिशत नेपाल र भारत तथा २० प्रतिशत खाडीमुलुकको रहेको जानकारी दिनुभयो । कतिपय चाहि घरपरिवारको सल्लाहमा गएपनि विदेशमा नराम्रो काममा परेपछि उद्दारका लागि गुहार माग्ने र घरपरिवारले प्रहरी र संघ संस्थामा उद्दारको निवेदन दिने गरेको पाइन्छ ।
सामाजिक न्याय र आर्थिक सशक्तिकरण भन्ने यो वर्षको नाराले मानव बेचबिखनको खास कारण देखाउँछ । आत्मसम्मान, आर्थिक मजबुतीका लागि महिला तथा युवती जोखिमपूर्ण यात्रामा निस्किने गरेका छन् । उनीहरु दलालले प्रलोभनमा पारेको भरमा घरपरिवारलाई छोडेर निस्किन्छन् । जुन जोखिमको कारण बन्ने गर्दछ ।
नेपालगञ्ज नाकामा यो आर्थिक वर्षमा ५ सय ३ जनालाई फिर्ता पठाइयो । कामको दामका लागि भारततर्फ गइरहेका उनीहरुलाई नाकाबाट माइती नेपाल र प्रहरीले फिर्ता गरेका थिए । यी फिर्ता भएकामध्ये धेरैलाई कुन ठाउँमा, के कामका लागि जादैछु भन्नेसम्म थाहा थिएन । बाँकेका ८४, सुर्खेतका ८८, दाङका ५५, बर्दियाका ५१, सल्यान र दैलेखका ३१÷३१ जना, जाजरकोटका १९, रोल्पाका ११ जनालाई नेपालगञ्ज नाकाबाट फिर्ता गरिएको थियो । उनीहरुलाई नाकामा रोकेर सोधपुछ गर्दा जोखिममा पर्ने संभावना देखिएकाले फिर्ता गरिएको माइती नेपाल, नेपालगञ्जका संयोजक कोइरालाले जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक वर्षमा ६ सय ९३ जनाको घरपरिवारले खोजतलास तथा उद्धारका लागि निवेदन दिएका थिए । त्यसमध्येमा बाँके जिल्लाको १ सय ५७ जना थिए । बाँकेमा बैजनाथ गाउँपालिकाका २८ जना रहेका छन् । राप्तीसोनारी गाउँपालिकाका १९ जना, खजुरा गाउँपालिकाका १८, जानकी गाउँपालिकाका ६ जना, डुडुवा गाउँपालिकाका ७ जना, कोहलपुर नगरपालिकाका ४ जना र नेपालगञ्ज उपमहानगरपालिकाका ३९ जना रहेका छन् । यो वर्ष जोखिमपूर्ण यात्रामा निस्केका ५ सय २९ जनालाई नेपालगञ्ज नाकाबाट फिर्ता गरिएको थियो । त्यसमा ८२ जना बाँके जिल्लाका थिए । बाँकेमा बैजनाथ गाउँपालिकाका २० जना, नेपालगञ्जका १४ जना, राप्तीसोनारीका १३ जना, कोहलपुरका २१ जना, खजुराका १२ जना, डुडुवा गाउँपालिकाका एक जना रहेका छन् । यो आर्थिक वर्षमा भारत तथा खाडीमुलुकबाट ९ जनाको उद्धार गरिएको थियो । जसमा बाँकेका ५ जना थिए । ५ जनामा बैजनाथ गाउँपालिकाका दुई जना, कोहलपुर, नेपालगञ्ज र खजुराका एक÷एक जना रहेका छन् ।