आगलागी बढ्दै

नेपालगञ्ज – नेपालगञ्जमा आगलागीका घटना वर्षेनी बढ्दै गएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले उपलब्ध गराएको तथ्यांकमा २०७९ मा ८० ठाउँमा आगलागी भएका छन् । त्यसअघि २०७८ मा ६१, २०७७ मा ६८ र २०७६ मा ७४ पटक आगलागी भएको थियो ।
आगलागीका घटना धेरैजसो विद्युत सट भएर भएका छन् । ८० वटामध्ये ३३ वटा घटना विद्युत सट भएर भएको छ ।
नेपालगञ्जमा उपमहानगरपालिकामा तीन वटा दमकल छन् । सधैं तीन वटै चालु अवस्थामा रहेको भने बिरलै पाइन्छ । यहाँको दमकलले जिल्लाका अन्य पालिकामात्रै होइन, सीमावर्ती भारतीय बजारमा आगलागी हुँदा पनि सेवा दिने गरेको छ ।
पछिल्लो ६ वर्षमा नेपालगञ्जको दमकलले भारतमा ११ पटक सेवा दिएको छ । सीमावर्ती भारतीय बजार रुपैडिहा आसपासमा हुने आगलागीमा नेपालगञ्जको दमकल जाने गरेको छ । जिल्लाभित्रका अन्य पालिकामा नेपालगञ्जसँग जोडिएको डुडुवा गाउँपालिकामा २६ पटक, जानकी गाउँपालिकामा २५ पटक, खजुरा गाउँपालिका र कोहलपुर नगरपालिकामा ९÷९ पटक, राप्तीसोनारी गाउँपालिकामा ४ पटक र नरैनापुर गाउँपालिकामा ३ पटक नेपालगञ्जको दमकल पुगेको छ । बाँकेका आधाजसो गाउँपालिकामा आफ्नै दमकल रहेको छ ।
नेपालगञ्ज बजारमा भने आगलागी हुँदा दमकल कर्मचारीलाई बढी सास्ती हुने गरेको छ । साँघुरो गल्ली भएकाले दमकल जाने ठाउँ छैनन् भने घनत्व बढी छ । त्यसो त दमकललाई पानी भर्ने समस्या छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले दमकलको दमकल नछिर्ने ठाउँमा छिटो पुग्न मोटरसाइकलको व्यवस्था गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिनुभयो । आगलागी भएको ठाउँमा छिटो पुग्ने, मोटरसाइकलमा पाइप लगेर विछ्याउने र जाने ठाउँसम्म दमकल गरेर पानी फाल्ने व्यवस्था गर्दा छिटो आगो निभाउन सकिने रणनीति बनाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !