५१ जना जिरो डोज र १३९ जना ड्रपआउटले खोप लगाए

नेपालगञ्ज – खोज र खोप अभियानमा नेपालगञ्जमा ५१ जना जिरो डोज र एक सय ३९ जना ड्रपआउटलाई समेटिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजन शाहीका अनुसार, ९० जना जिरो डोजका बच्चा रहेकोमा ५१ जनाले खोप लगाएका छन् । अझै ३९ जना खोप लगाउन बाँकी रहेको छ । बीचैमा खोप लगाउन छोडेका २ सय ९४ जनामा एक सय ३९ जनाले खोप लगाएका छन् । एक सय ५५ जना खोप लगाउन बाँकी रहेका छन् ।

नियमित खोप लगाउन छुटेका र बीचैमा छोडेकालाई खोप लगाउनका लागि बैशाख ३१ गते अभियान थालिएको थियो । नेपालगञ्जमा यसअघि बैशाख १५ गते पनि छुट बच्चालाई खोप लगाइएको थियो ।

जनस्वास्थ्य निरीक्षक शाहीले छुटेका बच्चालाई अब नियमित खोपमा समेट्ने बताउनुभयो । नेपालगञ्जमा हरेक महिनाको ६ देखि ११ गतेसम्म नियमित खोप लगाउने गरिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !