नेपालले एसियाकप क्रिकेटमा भारत र पाकिस्तानसंग खेल्ने

नेपालगञ्ज – नेपाली राष्ट्रिय क्रिकेट टिमले एसियाकपमा स्थान बनाएको छ।

एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत टियू मैदानमा मंगलबार भएको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि जित्दै एसियाकपमा स्थान बनाएको हो।

आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसियाकपमा नेपाल भारत र पाकिस्तान समिलित समूहमा रहेर प्रतिस्पर्धा गर्नेछ।

युएईले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य ११७ बल बाँकी हुँदा ३ विकेट गुमाएर पुरा गरेको थियो। नेपालको जितमा गुल्सन झा र भिम सार्कीले चौंथ विकेटका लागि ९६ रनको अविजित साझेदारी गरे।

गुल्सन झाले ८४ बलमा ६७ रन बनाएर अविजित रहँदा ३ चौका र ६ छक्का प्रहार गरेका थिए। त्यस्तै भिम सार्कीले ७२ बलमा ३६ रन बनाए। उनले ४ चौका प्रहार गरेका थिए। त्यसअघि नेपालले २२ रन जोड्दा तीन विकेट गुमाएको थियो। युएईका लागि रोहन मुस्ताफाले २ विकेट लिंदा आयान खानले १ विकेट लिएका थिए।

वर्षाका कारण सोमबार पुरा हुन नसकेको फाइनलको बाँकी खेल मंगलबार सम्पन्न भएको हो। युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रनबाट खेल सुरु गर्दै ३३.१ ओभरमा १ सय १७ रन बनाउँदा अलआउट भएको थियो। ललित राजवंशीलेनै नेपालका लागि अन्तिम विकेट लिएका थिए।

युएईका लागि आसिफ खानबाहेक कुनै पनि ब्याटर क्रिजमा जम्न नसक्दा कमजोर अवस्थामा समेटिन पुग्यो। उसका लागि आसिफ खानले ४६ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै, कप्तान मुहम्मद वासिमले ११ रन बनाउँदा आर्यान लाक्राले १३ रन बनाए। नेपालका लागि ललित राजवंशीले ४ विकेट लिँदा करण केसी र सन्दीप लामिछानेले समान २-२ विकेट हात पारे। त्यस्तै, सोमपाल कामी र गुल्सन झाले समान १-१ विकेट लिएका छन्।

प्रतियोगितामा नेपाल समूह ए को विजेता हुँदै फाइनलमा स्थान पक्का गरेको थियो। कुवेतसँगको सेमिफाइनल खेल वर्षाको कारण नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको थियो भने युएईले सेमिफाइनलमा ओमानलाई डिएल म्याथोडमा दुई रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो।


error: यो सुविधा उपलब्ध छैन !