बेचबिखनविरुद्ध काम गर्ने ‘देहात’को पैसा उठाउने धन्दा
नेपालगञ्ज – मानव बेचबिखनविरुद्धमा काम गर्ने भारतीय संस्था देहातले सोधपुछका नाममा पैसा उठाउने गरेको पाइएको छ ।
भारत जाने नेपाली महिला र पुरुषलाई रुपैडिहास्थित एसएसबी कार्यालय अगाडि चेकजाँच गर्ने नाममा देहातका कर्मचारीले पैसा लिने गरेको पाइएको हो ।
केही महिनाअघि पहाडी जिल्लाबाट विवाह गरेर एक जोडी नेपालगञ्ज नाकामा आइपुगे । उनीहरु भारतमा रोजगारीका लागि जान थालेका थिए । शंका लागेर नाकामा नेपालतिरै बसेको एउटा मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थाले सोधपुछ ग¥यो । विवाह गरेर आएको भएपनि उनीहरुको साथमा विवाह दर्ताको कागज थिएन । संस्थाका कर्मचारीले केटा र केटीका अभिभावकलाई फोन गरे । दुवैतर्फका आमा र बुवाले विवाह गरेर जान थालेको बताए । आमा बुवाले नै विवाह गरेर जान थालेको बताएपछि नेपाली संस्थाले छोडिदियो ।
त्यही जोडीलाई नाका पार भएपछि देहातका कर्मचारीले केरकार गरे । केहीबेरको केरकार पछि देहातका कर्मचारीले मोबाइलमा पाँच सय टाइप गरेर देखाए । डराएका पहाडी जिल्लाका त्यो जोडी पाँच सय रुपैया दिएर अगाडि बढे ।
एसएसबीको अगाडिपट्टी बसेर केरकार गर्ने देहातका कर्मचारीले मोबाइलमा टाइप गरेको रकम नदिए एसएसबीलाई बुझाइदिने धम्की दिने गर्दछन् । मानव बेचबिखनविरुद्ध काम गर्ने नेपाली संस्थासमक्ष यस्ता धेरै गुनासो आउने गरेको छ । त्यही देहातसम्बद्धले नेपालमा हुने मानव बेचबिखनविरुद्धको कार्यक्रममा आएर चर्को भाषण दिने गरेको पाइन्छ ।