क्षयरोगबाट ६ महिनामा १३ जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा क्षयरोग (टीबी) बाट १३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय, बाँकेका क्षयरोग फोकलपर्सन मानबहादुर नेपालीले साउनदेखि पुससम्ममा जिल्लामा १३ जनाको मृत्यु भएको बताउनुभयो ।

यो अवधिमा जिल्लामा ५ सय १८ जना नयाँ विरामी फेला परेका छन् । ६ महिनामा ७ सय १७ जना नयाँ विरामी पत्ता लगाउनु पर्नेमा ५ सय १८ जना मात्रै फेला परेको छ । एक सय ९९ जना अझै हराएका छन् ।
जिल्लामा निकोदर ९२ प्रतिशत रहेको छ । ६ महिनामा चार जना औषधी खादा पनि निको भएनन् । १४ जना औषधी खादा खादै बिचमै हराएका छन् ।

नेपालमा क्षयरोगबाट वर्षेनी १७ हजार मानिस मर्ने गर्दछन् । सर्वे अनुसार, नेपालमा वार्षिक ६९ हजार नयाँ क्षयरोगी थपिन्छन् । आर्थिक वर्ष २०७८-७९ मा ३८ हजार ५ सय २० जना मात्रै नयाँ विरामी फेला परे । ३१ हजार विरामी हराइरहेका छन् । फेला पार्न सकिएको छैन ।

यसैबीच, बाँकेको ढकेरीमा क्षयरोग उपचार र प्रेषण व्यवस्थापन केन्द्र निर्माण हुने भएको छ । अस्पताल निर्माणका लागि वर्षौदेखि पहल भइरहेपनि जग्गा उपलब्ध नहुँदा बजेट आउदै फर्किदै गरेको छ ।

अस्पताल निर्माणका लागि राप्तीसोनारी गाउँपालिका वडा नं. ९, ढकेरीमा दुई विगाह जग्गा छुट्याइएको छ । अस्पताल निर्माणका लागि १३ करोड ९९ लाख आएको छ । टीबी नेपालका व्यवस्थापक हिक्मतबहादुर खड्काले ढकेरीमा अस्पताल बनाउनका लागि टेण्डर आव्हान भइसकेको जानकारी दिनुभयो । अस्पताल निर्माणका लागि बजेट आएको यो चौथो पटक हो ।


error: यो सुविधा उपलब्ध छैन !