फोहोर व्यवस्थापनमा अस्पताल र उपमहानगरपालिकाबीच तालमेल अभाव
नेपालगञ्ज – नेपालगञ्जका अस्पतालबाट निस्किने फोहोर व्यवस्थापनको सवालमा नेपालगञ्ज उपमहानगरपालिका र अस्पतालका बीचमा तालमेल अभाव देखिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले हिरमिनियामा रहेको ल्याण्डफिल साइटमा एकीकृत स्वास्थ्यजन्य फोहोर मैला व्यवस्थापन केन्द्र सञ्चालन गरेपनि यहाँका सबै अस्पतालले त्यहाँ फोहोर फालेका छैनन् । नेपालगञ्ज उपमहानगरपालिकाले कायम गरेको मूल्यलाई अस्पतालले महंगो भनेपछि तालमेल नमिलेको हो ।
नेपालगञ्ज मेडिकल कलेजले एक हप्तादेखि अस्पतालजन्य फोहोर आफैले चौलिक्कामा व्यवस्थापन गरिरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले भने अस्पतालजन्य फोहोर उठाउने ठेक्का स्वच्छ नेपाल, हाम्रो अभियानलाई दिएको छ । नेपालगञ्ज उपमहानगरपालिका र अस्पतालका बीचमा यकिन कुरा नहुँदा ठेकेदार मारमा परेका छन् ।
अस्पतालबाट निस्किने फोहोरलाई तीन प्रकारको मूल्य तोकिएको छ । संक्रमित फोहोरलाई प्रतिकेजी ३१ रुपैया, निर्मलीकरण गरेको फोहोरलाई प्रतिकेजी २१ रुपैया र साधारण फोहोरलाई प्रतिकेजी सात रुपैया कायम गरिएको छ । मेडिकल कलेजले सात रुपैयाकै दरले सबै फोहोर लैजान भनिरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले कायम गरेको मूल्यलाई नमान्दा केही दिन केन्द्रमा पठाइरहेको फोहोरलाई उसले चौलिक्कामा लगेर जलाइरहेको छ ।
अस्पतालजन्य फोहोर व्यवस्थापन गर्ने ठाउँ नहुँदा समस्या झेल्दै आएका अस्पतालहरुले अहिले बनिसकेपछि पनि त्यहाँ फोहोर फाल्न आनाकानी गरिरहेका छन् । नेपालगञ्जमा क्लिनिकसहित ५० बढी स्वास्थ्य संस्था छन् ।