करार कर्मचारीलाई नहटाउन अन्तरिम आदेश

नेपालगञ्ज – करार कर्मचारीलाई नहटाउन अदालतले अन्तरिम आदेश दिएको छ ।

खजुरा गाउँपालिकाका आठ जना कर्मचारीले दायर गरेको रिटमा बुधबार सुनुवाई गर्दै न्यायाधीशद्वय केशवराज जोशी र टंक गुरुङको इजलासले करार कर्मचारीलाई पूर्ववत काममा लगाउन आदेश दिएको हो ।

खजुरा गाउँपालिकाले वर्षौदेखि करारमा रहेकासहित ६० जना कर्मचारीको म्याद नथप्ने निर्णय गरेको थियो । तत्कालिन जिल्ला विकास समिति, गाउँ विकास समितिबाट आएका समेत कर्मचारीलाई हटाउने निर्णय भएपछि करार कर्मचारी अदालतको शरणमा पुगेका थिए ।

करार कर्मचारीका तर्फबाट वरिष्ठ अधिवक्ता भोलासिंह हमाल, अधिवक्ता ध्रव बस्याल र विकास आचार्य तथा गाउँपालिकाको तर्फबाट कानूनी सल्लाहकार तीर्थ ज्ञवालीले बहस गर्नु भएको थियो । दुवै पक्षको कुरा सुनेपछि न्यायाधीशद्वयले करार कर्मचारीलाई साविकको काममा लगाउन, काम नरोक्नु भन्ने आदेश गरेको हो ।

बर्दिया ठाकुरबाबा नगरपालिकाका ६ जना कर्मचारीले पनि नेपालगञ्जस्थित अदालतमा मुद्दा दायर गरेका छन् । उनीहरुको विषयमा पनि अदालतले आइतबारसम्मका लागि अल्पकालिन आदेश दिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !