केन्द्रको निर्णयप्रति जसपाको विद्रोह, माओवादीको आपत्ति

नेपालगञ्ज – गठबन्धनको केन्द्रीय निर्णयप्रति जनता समाजवादी पार्टी (जसपा) बाँके र नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहानगरपालिका कमिटिले आपत्ति जनाएको छ ।

केन्द्रीय निर्णय अनुसार, नेपालगञ्ज उपमहानगरपालिकामा मेयरमा नेपाली कांग्रेस र उपमेयरमा जसपाको भाग परेको छ ।

जसपाले कुनै पनि हालतमा मेयर नछोड्ने बताएको छ । जसपाका जिल्ला सचिव राजेन्द्र विकले नेपालगञ्ज उपमहानगरपालिकामा जसपा धेरै अगाडि बढिसकेकाले कुनै पनि हालतमा गठबन्धनको निर्णय नमान्ने बताउनुभयो । जसपाले अर्कै चुनाव चिन्ह लिएर भएपनि नेपालगञ्जमा चुनाव लड्ने बताएको छ ।

जिल्ला सचिव विकले भन्नुभयो, भोली (बिहीबार) हाम्रो उपस्थित केन्द्रीय र प्रदेशका सदस्यसहितको बैठक छ । त्यो बैठकले गठबन्धनको निर्णय नमान्ने निर्णय गरेर अघि बढ्छ ।’

जसपाले नेपालगञ्ज उपमहानगरपालिका, जानकी, डुडुवा र नरैनापुर गाउँपालिकामा एक्लै चुनाव लड्ने बताएर जिल्लामा भएको गठबन्धनको शुरुवाती बैठकबाटै बाहिरिएको थियो ।

केन्द्रको निर्णयप्रति माओवादीले पनि आपत्ति जनाएको छ । माओवादीका नेपालगञ्ज उपमहानगरपालिकाका इन्चार्ज नविन शर्माले कार्यदलले गरेको निर्णय अव्यवहारिक र अपमानजनक रहेको बताउनुभयो । माओवादीले मैत्रीपूर्ण एकल प्रतिस्पर्धाको वातावरण बनाउन आग्रह गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !