भृकुटीमा पुराना विद्यार्थीको अक्षयकोष
नेपालगन्ज – बर्दियाको डेउढाकलामा रहेको भृकुटी माध्यमिक विद्यालयमा पूर्व विद्यार्थीले अक्षयकोष स्थापना परेका छन् ।
वि.सं. २०५५ सालमा एसएलसी दिएका विद्यार्थीले स्कूलमा एक लाख एघार हजारको अक्षयकोष स्थापना परेका हुन् ।
‘भृकुटी मावि २०५५ एसएलसी ब्याच अक्षयकोष’ नामाकरण गरिएको अक्षयकोषको वार्षिक आउने ब्याज १२ कक्षामा अध्ययनरत छात्र र छात्रालाई वितरण गरिने छ । त्यसका लागि विद्यालयका प्रधानाध्यापक भीमप्रसाद रिजाल, अक्षयकोष सञ्चालन समितिका अध्यक्ष सरस्वती ढकाल, ११ र १२ कक्षामा पढाउने एक जना शिक्षक सम्मिलित छनौट समिति बनाइएको छ । समितिले १२ कक्षामा पढ्ने गरीव, जेहेन्दार, मेधावी छात्र÷छात्रालाई विशेष कार्यक्रमको अवसर पारेर छात्राबृत्ति प्रदान गर्नेछ ।
अक्षयकोष सञ्चालन समितिका पदाधिकारीले आज स्कूलमै पुगेर त्यससम्बन्धमा सम्झौता गर्दै चेक हस्तान्तरण गरेका छन् । समितिका अध्यक्ष सरस्वती ढकाल, उपाध्यक्ष रामबहादुर चौधरी र कोषाध्यक्ष लक्ष्मी सिंहले स्कूलका प्रधानाध्यापक भीमप्रसाद रिजाल, व्यवस्थापन समितिका पदेन सदस्य रहने वडाध्यक्ष बलिराम चौधरीको उपस्थितिमा सम्झौता पत्र आदान–प्रदान गर्दै चेक हस्तान्तरण गरेका हुन् ।
भृकुटीमा २०५५ सालमा एसएलसी दिने ३५ जना विद्यार्थी थिए । त्यसमध्येका १७ जनाले मिलेर अक्षयकोष स्थापना गरेका हुन् । बाँकी रहेका साथीहरुलाई समेट्दै लैजाने र भविष्यमा अक्षयकोषको रकम बढाउने अध्यक्ष ढकालले बताउनुभयो ।
सो अवसरमा प्रधानाध्यापक रिजालले अक्षयकोष स्थापना गरेर २०५५ सालका एसएलसी ब्याचका विद्यार्थीले राम्रो काम गरेको बताउनुभयो ।
थोरै रकमबाट अक्षयकोषको स्थापना गरिएको छ । वर्षमा ८ हजारमात्रै ब्याज आएपनि दुई जनाले चार-चार हजार पाउने छन् । अक्षयकोषलाई बढाउदै लैजाने समितिको रणनीति रहेको छ । विभिन्न ठाउँमा भूतपूर्व विद्यार्थीहरु एकजुट भएर केही न केही नयाँ काम गरिरहेका छन् । भृकुटीका २०५५ सालकाे एसएलसी ब्याचका विद्यार्थीले गरीव, जेहेन्दार विद्यार्थीको हौसला बढाउन अक्षयकोष स्थापना गरेको हो ।