कोहलपुर नगरपालिकाको चौधौं नगर अधिवेशन सम्पन्न


कोहलपुर – काेहलपुर नगरपालिकाको चौधौं नगर अधिवेशन सम्पन्न भएको छ ।

बुधबार नगर सभामा आयोजित चौधौं नगर अधिवेशन मार्फत चालु आ.व.को अहिलेसम्म भएका प्रगति, संशोधित बजेट तर्जुमाका साथै अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । नगर सभामा कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले अहिलेसम्म भएको प्रगति प्रतिवेदन, संशोधित बजेट तर्जुमाका साथै मध्यवर्ती समीक्षा सहितको प्रतिवेदन पेश गरेकी थिइन् । नगरपालिकाअन्तर्गत रहेका विभिन्न शाखागत प्रगतिहरु समेत प्रस्तुत गरेकी थिइन् । विभिन्न विषयगत शाखा अन्तर्गत नगरपालिकाले अपेक्षित उपलब्धी हासिल गरेको उनको भनाइ थियो ।

नगर सभाले संशोधित बजेट योजना तथा कार्यक्रम बहुमतले पारित गरेको छ । विधायन समितिले कोहलपुर नगरपालिकाको बाङमय प्रतिष्ठान ऐनमा संशोधन गर्ने, शिक्षा ऐन संशोधनगर्ने प्रस्ताव पेश गरेकी थिइन् । उपप्रमुखले प्रस्तुत गरेका कार्यक्रम र विधायन समितिले प्रस्तुत गरेका दुई वटा ऐन संशोधन प्रस्तावमा विभिन्न राय सुझावसहित नगर सभाले बहुमतले पारित गरेको हो ।

यसैगरी नगर सभामा सभाध्यक्ष तथा नगर प्रमुख पूर्ण प्रसाद आचार्यले विभिन्न विषय माथि प्रस्ताव गरेका थिए । उनले अखिल नेपाल फुटबल संघको जग्गा भोगाधिकार माग सम्बन्धी सिफारिसमा सम्बन्धमा र  सिटिइभिटीका लागि जग्गा सिफारिस गर्ने सम्बन्धमा नगर सभामा प्रस्ताव पेश गरे । सिटिइभिटीका लागि जग्गा सिफारिस गर्ने सम्बन्धमा उनले बैजनाथपुर सामुदायिक वनले नगरपालिकालाई दिएको निवेदन सुनाए । उक्त प्रस्तावमा मध्ये नगर सभा सदस्य तथा कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष लालबहादुर रानाले सिटिइभिटीलाई जग्गादिन आफ्नो वडाको सामुदायिक वनले पनि जग्गा दिन चाहेको बताएका थिए । उक्त प्रस्तावमा नगर प्रमुखले सो सम्बन्धमा आवश्यक प्रक्रिया पु¥याएर निष्कर्षमा जाने कुरा सुनाएका थिए ।

नगर सभाको अवसरमा विभिन्न १४ वटा विषयसहित अन्य विविध विषयमा छलफल भएको थियो । नगर सभामा प्रस्तुत सम्पूर्ण विषयनगर सभाबाट पारित भएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताए । उनका अनुसार तत्कालका लागि नगरपालिकामा अत्यावश्यक रहेका विषयहरुमा नगर सभामा छलफल भएको थियो । नगर सभा सदस्यहरुबीच तीविषयमा छलफल भएर अधिकांश विषय पारित गरिएको नगर प्रमुख आचार्यले बताए ।

नगर सभामा माल्टासँग भगिनी सम्बन्ध कायम गर्ने, अधुरा ठेक्कातथा योजनाहरुको व्यवस्थापन, सवारी साधन खरिद्, कोहलपुर भ्यु टावर तथा बसपार्कको व्यवस्थापन, नगर कोषको ऋण भुक्तानी तथा बेरुजु फछ्यौट गर्ने लगायतका विषयमा व्यापक छलफल भएको थियो । नगर सभामा प्रस्ताव गरिएका १४ वटै विषयमा बहुमतले निर्णय भएको उनले बताए । कोहलपुर नगरपालिकाको चौधौं नगर सभामा नगर सभाका ६ जना सदस्यले विभिन्न विषयमा धारणा राखेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !