व्यापारीको पुस महिनाभरि आन्दोलन
नेपालगञ्ज – बाँके र बर्दियाका व्यापारीसम्मिलित व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समितिले पुसदेखि दोस्रो चरणको आन्दोलनको कार्यक्रम गर्ने भएको छ ।
संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गरेर पुस महिनाको चार वटा कार्यक्रम सार्वजनिक गरेको हो । जसअन्तर्गत पुस ५ गते नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय, नेपालगञ्ज र जिल्ला प्रशासन कार्यालय, बाँके, जिल्ला प्रहरी कार्यालय, भन्सार कार्यालय, बाणिज्य बैंकहरुसँग सरोकारवाला संघ, संस्था र व्यवसायीका बीचमा टक सो गर्ने, पुस ७ गते नेपालगञ्जको राष्ट्र बैंक अगाडि धम्बोझीचोकमा बृहत व्यवसायिक आम सभा गर्ने, पुस ७ गते नै कोहलपुर, बर्दियाको बाँसगढी र गुलरियामा बृहत व्यवसायिक कोण सभा गर्ने, पुस २९ गते जिल्ला तथा नगर बाणिज्य संघहरुमा आम सभा तथा आन्दोलनको तयारी लागि भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ ।
संघर्ष समितिका संयोजक टंकबहादुर धामी र सदस्य सचिव भीमबहादुर रानाभाटले पुस महिनाभरी नै कुनै सुनुवाई नभए उद्योगी व्यवसायी बाध्य भएर आ–आफ्नो उद्योग, प्रतिष्ठानहरुमा ताला लगाई सरोकारवाला निकायलाई चावी बुझाएर कठोर आन्दोलन गर्ने कार्यक्रम बनाउने जानकारी दिनुभयो ।
संघर्ष समितिले बैंकको सास्ती रोक्न, सरकारले भन्सार नीतिलाई राज्यका सबै संयन्त्र परिचालन गरी भन्सारबाट आयात तथा निर्यात हुने सबै सामाग्रीमा कर नीतिलाई नीतिगत तहमै कडा रुपले कार्यान्वयन गर्न जोडदार माग गरेको छ ।
बाँके र बर्दियामा थालिएको आन्दोलनको सुनुवाई नभए आन्दोलनलाई देशव्यापी बनाएर काठमाडौं केन्द्रित आन्दोलन गर्ने व्यवसायीले चेतावनी दिएका छन् । संघर्ष समितिका सदस्य सचिव रानाभाटले व्यवसायीको माग सम्बोधन नभएसम्म आन्दोलन चलिरहने बताउनुभयो । संघर्ष समितिले यसअघि नै राष्ट्र बैंक, प्रधानमन्त्री तथा गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाइसकेको छ ।