म्याराथनकाे पुरस्कार बढ्याे

नेपालगञ्ज – नवौं धारा नेपालगञ्ज म्याराथनकाे पुरस्कार वृद्धि गरिएको छ ।

नवौं धारा नेपालगञ्ज म्याराथनको विजेताले नगद दुई लाख पाउने अायाेजकले बताएका छन् ।  दाेस्रो स्थान हासिल गर्नेले एक लाख, तेस्रोले ५० हजार, चौथोले २५ हजार, पाँचौंले १५ हजार, छैटौंले १० हजार, सातौं र आठौंले समान ५-५ हजारबाट पुरस्कृत हुनेछन् । यसमा ४५ बर्षमाथिको धावकलाई पनि स्थान निर्धारण गरि प्रोत्साहन गरिनेछ ।
हाफ म्याराथन(महिला)मा प्रथम हुनेले ७५ हजार, दोस्रोले ५० हजार, तेस्रोले २५ हजार, चौथोले १५ हजार, पाँचौंले १० हजार, छैटौं, सातौं र आठौंलाई समान ५-५ हजार नगदले पुरस्कृत हुनेछन् ।
त्यस्तै १० किलोमिटर महिला र पुरुषतर्फ शीर्ष तीन जनालाई ३० हजार, १५ हजार र १० हजार नगदले पुरस्कृत गरिनेछ । स्कुलस्तरीय ५ किलोमिटर दौडमा शीर्ष तीनलाई पाँच हजार, तीन हजार र दुई हजार प्रदान गरिनेछ । यसमा बाँके जिल्ला बाहिर र जिल्लाभित्रका विद्यार्थीलाई समेटिएको छ । यसमा पनि कक्षा ६ देखि ८तथा ९ देखि १२ को अलग अलग स्थान निकालिनेछ । ह्वीलचेयर दौडमा पनि पुरुष तथा महिलातर्फ अलगअलग शीर्ष तीनलाई पाँच हजार, तीन हजार र दुई हजारबाट पुरस्कृत गरिनेछ । किड्स रनतर्फका विजेतालाई शैक्षिक उपहारबाट प्रोत्साहन गरिनेछ । कर्पोरेट पाँच किलोमिटर दौडमा विजेतालाई पदक र विभिन्न आकर्षक प्याकेजबाट सम्मानित गरिनेछ ।
अझै केही सरप्राइज प्याकेज चाँडै घोषणा गरिनेछ ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगञ्ज म्याराथन आयोजना हुँदैआएको छ ।

साथै, नेपालगञ्ज म्याराथनका क्रममा कार्यक्रमलाई भव्य बनाउन सहभागिता जनाउने विभिन्न व्यक्ति तथा संस्थालाई पनि पुरस्कृत गरिनेछ । ‘सबै जाति, सबै भाषा एक ठाउँः सबै मिलि देश बनाउँ’ भन्ने हेतुले म्याराथन रुटमा खेलाडीको हौसलाका लागि उपस्थित हुने सहभागीमध्येबाट एक जनालाई बेष्ट ड्रेस अवार्ड, बेस्ट सहभागिता अवार्ड, बेस्ट भोलेन्टियर अवार्ड लगायत विविध विधामा सम्मान गर्ने अायाेजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।


error: यो सुविधा उपलब्ध छैन !