लक्ष्मीनारायण मन्दिरमा महाआरती हुँदै
खजुरा – खजुराको लक्ष्मीनारायण मन्दिरमा महाआरती हुने भएको छ ।
लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समिति र खजुरा क्षेत्र संरक्षण समितिले भदौ २४ गते एकादशीका दिन महाआरती गर्न थालेको हो । दुवै समितिले बुधबार संयुक्त पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठ र खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेमबहादुर बुढाथोकीका अनुसार, भदौ २४ गते शुभारम्भ गरेर महिनामा दुई पटक महाआरती गर्ने तयारी गरिएको छ । दुवै पटकको महाआरती एकादशीमा गरिने छ । लक्ष्मीनारायण धामको स्थापनाको अभियानलाई सार्थक बनाउने उद्देश्यले मन्दिर परिसरमा भजनकिर्तनसहित महाआरती गर्न थालिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
निकट भविष्यमै अग्लो सुदर्शन चक्रसहितको लक्ष्मीनारायणको मूर्ति स्थापना गर्ने तयारी गरेको समितिले महिनामा दुई पटक गर्ने महाआरतीमा आकर्षण बढेमा हरेक बिहीबार गर्ने रणनीति बनाएको छ । महाआरती गर्नका लागि समितिले साउण्ड सिस्टम खरिद गरिसकेको छ । भदौ २४ गते पहिलो दिन नेपालगञ्जस्थित बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथसँग समन्वय गरेर महाआरती गर्ने र त्यसपछि त्यहीका बटुकलाई सिकाएर महाआरती गर्ने तयारी गरिएको छ ।
लक्ष्मीनारायण मन्दिर मागेको भाकल पूरा हुने र समृद्धिको प्रतिककको रुपमा रहेको छ । खजुरावासीले लक्ष्मीनारायण मन्दिरसहित खजुराका अन्य मठमन्दिरलाई समेटेर धार्मिक गन्तब्य बनाउने अभियान थालेका छन् । लक्ष्मीनारायणसँगै मनकामनापुरको शिवालय, ज्ञानोदयको कालिमाई, डीगाउँको नवदुर्गा मन्दिरलगायत खजुरा क्षेत्रमा ठूलो संख्यामा धार्मिक मठमन्दिरहरु रहेका छन् । खजुरा धार्मिक रुपमा पनि दशकौंदेखि प्रख्यात रहेको छ । राणाकालको मैटहवा मन्दिर, सयौं वर्ष पुरानो हनुमान तलौवा, सन्तकुटी जस्ता ऐतिहासिक धार्मिक क्षेत्र खजुरामा पर्दछन् ।
नेपालगञ्जको बागेश्वरी मन्दिरमा केही महिनादेखि मात्रै थालिएको महाआरतीमा भक्तजनको भीड लाग्ने गरेको छ । यहाँ हरेक सोमबार हुने गर्दछ । नेपालगञ्जको जस्तै आकर्षण बढ्ने आशा गरेका खजुरेलीले त्यस्तो भएमा हरेक बिहीबार गर्ने योजना बनाएका छन् ।
यसैबीच, खजुरा क्षेत्र संरक्षण समितिले बृहत खजुरा तीज महोत्सव गर्ने भएको छ । चरम द्वन्द्वकालदेखि खजुराको एकता र सांस्कृतिक पहिचान जोगाउदै आएको समितिले त्यसलाई निरन्तरता दिदै असोज १ गते खजुरा बजार क्षेत्रमा महोत्सव गर्न थालेको अध्यक्ष बुढाथोकीले बताउनुभयो । महोत्सवमा स्थानीय महिला समूहको सामुहिक तथा एकल नृत्य प्रतियोगितासँगै परम्परागत लाखे नाच प्रदर्शन हुने आयोजकले बताएका छन् ।
मौलिकता हराएको अवस्थामा आफै मादल बजाएर मौलिक भाकामा प्रस्तुति हुने तिजी गीत र तीजको एकल नृत्य प्रतियोगिता महोत्सवको आकर्षण हुने अध्यक्ष बुढाथोकीले बताउनुभयो । प्रतियोगिता विजेतालाई आकर्षण पुरस्कारको व्यवस्था गरिएको छ ।