बजेट पारितसंगै सिधियाे राप्तीसाेनारीकाे गाउँ सभा

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट सर्वसम्मतले पारित भएको  छ ।

गाउँसभाको १३औं अधिवेशनको दोस्रो बैठकले आज सर्वसम्मतले बजेट पारित गरेको हो । राप्तीसोनारीले करिब ८१ करोड रुपैयाँ बराबरको बजेट गाउँसभामा प्रस्तुत गरेको थियो । राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषासिंह थारुले असार १० गते पहिलो बैठकमा ८० करोड ९१ लाख २८ हजार रुपैयाँको बजेट गाउँसभाको १३औं अधिवेशनमा प्रस्तुत गर्नुभएको थियो । त्यसअघि अध्यक्ष तप्तबहादुर पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम त्यसै दिन सर्वसम्मतिले पारित भएको थियो ।

गाउँपालिकाले आगामी वर्षका लागि चालूतर्फ ६३ करोड ६ लाख २८ हजार र पूँजीगततर्फ १७ करोड ५८ लाख गरी कूल ८० करोड ९१ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको हो । राप्तीसोनारीले आगामी वर्षका लागि शिक्षातर्फ उल्लेखनीय बजेट विनियोजना गरेको छ । शिक्षाका लागि मात्रै ३५ करोड ९ लाख ३० हजार रुपैयाँ विनियोजना गरिएको हो । यस्तै स्वास्थ्यमा ७ करोड ३९ लाख १७ हजार विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले  बताउनुभयो । गाउँपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशु विकास, पर्यटन, सामाजिक विकास लगायतलाई जोड दिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

कार्यपालिका सदस्यहरु लक्ष्मी थारु, कमला विक र मंगल वलीले शून्य समयमा बोल्नुभएको थियो । लेखा समिति संयोजक केशवराज दमाईले लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए भने विधायन समिति संयोजक रामलखन थारुले विधायन समितिको प्रतिवेदन २०७९/८० प्रस्तुत गर्नुभएको थियो । यी दुबै प्रतिबेदन पनि सर्वसम्मत पारित भएको छ । उपाध्यक्ष थारुले असार १० गते गाउँसभामा प्रस्तुत गरेको न्यायिक समितिको प्रतिवेदन पनि पारित भएको छ । गाउँसभामा उपाध्यक्ष थारु, वडा नम्बर १ का वडा अध्यक्ष यमबहादुर खड्का, वडा नम्बर ३ का वडा अध्यक्ष मिनकुमार थारु, वडा नम्बर ४ का वडा अध्यक्ष मिनराज खड्का, वडा नम्बर ५ का वडा अध्यक्ष झगरु थारु, वडा नम्बर ६ का वडा अध्यक्ष लवराज खरेल, वडा नम्बर ७ का अध्यक्ष रामलखन थारु, ८ का अध्यक्ष शालिकराम डाँगी र ९ का अध्यक्ष सोहनलाल चौधरीले बोल्नुभएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !