रिसोर्टमा आठौं राष्ट्रिय खेलकुदको ‘मस्कट’
नेपालगञ्ज – आठौं राष्ट्रिय खेलकुदको ‘मस्कट’ बर्दियाको रिसोर्टमा पुगेको छ ।
आर्थिक वर्ष २०७५-७६ मा नेपालगञ्जमा भएको आठौंको मस्कट (हात्तीको बच्चा छावा) बर्दिया ठाकुरद्वाराको बर्दिया गैडा क्याम्प रिसोर्टमा पुगेको छ ।
यो रिसोर्टमा चेस प्रतियोगिता भएको थियो । प्रतियोगिता हुँदा खाएको र बसेको पैसा नदिएपछि रिसोर्ट सञ्चालक रामजी थापाले मस्कट लगेका हुन् ।
राष्ट्रिय प्रतियोगिता हुँदा त्यो ठाउँ विशेषको चिनारीका लागि मस्कट बनाउने गरिन्छ । नेपालगञ्जमा हुँदा हात्तीको बच्चा छावालाई मस्कट बनाइएको थियो । त्यसरी बनाइएको मस्कट प्रतियोगिता भएको ठाउँमै राख्ने गरिन्छ । आठौंमा भने रिसोर्टमा बसेको पैसा नतिरेर मस्कट नै जिम्मा लगाइएको छ ।
रिसोर्ट सञ्चालक थापाले दुई लाख ६० हजार रुपैया नतिरेपछि मस्कट ल्याएको जानकारी दिनुभयो ।
नेपालगञ्जका खेलकुदसम्बद्ध एक अधिकारीले काठमाडौंबाट बनेर आएको प्लाष्टिक फाइबरको मस्कटको केही भाग टुटफुट भइसकेको र रिसोर्ट सञ्चालकले लैजान मरिहत्ते गरेपछि दिएको प्रतिक्रिया दिएका छन् ।