बाल सुधार गृहबाट २४ जनाले एसइइ दिए, दुई शिक्षक निष्कासित

नेपालगञ्ज – बाँकेमा रहेको जयेन्दु बाल सुधार गृहबाट २४ जनाले माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका छन् ।

अपराध कर्ममा फसेका बालकलाई सरकारले बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६, आसमानपुरमा रहेको बाल सुधार गृहमा पठाउने गरेको छ । दुई सय बढी बालक बन्दी रहेको गृहबाट २४ जनाले शुक्रबार एसइइ दिएका छन् । नेपालगञ्जको युद्ध संस्कृत माविमा उनीहरुको केन्द्र तोकिएको थियो । उनीहरुले बाल सुधार गृहबाटै परीक्षा दिएका छन् ।

बाँकेमा यसपालीको एसइइमा ९ हजार २३ जनाले फारम भरेका थिए । त्यसमा ४ हजार ४ सय ९४ जना छात्रा र ४ हजार ५ सय २९ जना छात्र रहेका छन् । फारमकामध्ये कति विद्यार्थी अनुपस्थित भएको भन्ने जानकारी लिने काम भइरहेको शिक्षा समन्वय इकाई, नेपालगञ्जका अधिकृत उद्धव श्रेष्ठले जानकारी दिनुभयो ।

पहिलो दिनको परीक्षामा कोहलपुरका ज्ञानज्योती मावि, चप्परगौडीबाट अमर्यादित गतिविधि गरेका दुई जना शिक्षकलाई निष्कासन गरिएको छ । एसइइको आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !