बेचबिखनविरुद्ध ‘क्रस बोर्डर अन्तरक्रिया’
नेपालगञ्ज – मानव बेचबिखनविरुद्ध नेपाल–भारत सहकार्यलाई प्रभावकारी बनाउन ‘क्रस बोर्डर अन्तरक्रिया’ गरिएको छ ।
शक्ति समूहले नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा मानव बेचबिखन रोक्नका लागि नाकामा रहेका नेपाल र भारतका सरकारी तथा गैरसरकारी संस्थाका बीचमा सहकार्य आवश्यक रहेको बताइएको छ ।
अन्तरक्रियामा सहभागी नेपाल र भारतका प्रतिनिधिले दुई देशका अधिकारीका बीचमा औपचारिकसँगै अनौपचारिक सहमतिका आधारमा बेचबिखनविरुद्धको गतिविधि गरिरहेको बताए । जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिका भेटिदा नाकाका प्रहरीले समन्वय गरेर अघि बढ्ने गरेको बताएका छन् ।
शक्ति समूहका अध्यक्ष चरिमाया तामाङले बदलिदो परिस्थितिमा दुई देशको समन्वयलाई प्रभावकारी बनाउन सहकार्य आवश्यक रहेको बताउनुभयो । शक्ति समूहले मानव बेचबिखनको रोकथाम, संरक्षण, क्षमता अभिबृद्धि, जिविकोपार्जन सहयोग र वकालत गरिरहेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले दलालले आकाशको तारा झारिदिनेसम्मको आश्वासन दिएर फकाइरहदा रोकथाम गर्ने निकायको काउन्सिलिङ प्रभावकारी हुन नसकेको बताउनुभयो ।
एटविनका कार्यकारी निर्देशक बेनुमाया गुरुङले मानव बेचबिखनविरुद्ध काम गर्नेहरुको काउन्सिलिङ दलालको भन्दा कमजोर रहेको बताउनुभयो । गुरुङले प्रभावित र पीडितमुखी नीति नियम बनाउन आवश्यक रहेको बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष तरुण बज्राचार्य, शक्ति समूहका राजेन्द्र चौलागाई, एटविनका सुमित्रा अधिकारी, माइती नेपालका नेपालगञ्ज संयोजक केशव कोइराला, अधिवक्ताद्वय बसन्त गौतम र सुनिता शर्मा, सिविनका सिद्धराज पनेरु, आफन्त नेपालका सुनिता सारु, शक्ति समूह, लुम्बिनी संयोजक निर्मला पौडेल, भारत रुपैडिहा थानाका प्रहरी रुदलबहादुर सिंहलगायतले खुल्ला सीमाना, कार्यविधि अभाव, पहिचानमा कठिनाई, तथ्यांकमा एकरुपता नहुनु, मानव बेचबिखनलाई राजनीतिक दलले प्राथमिता नदिनुजस्ता चुनौती रहेको बताए । उनीहरुले नाकामा दुई देशका अधिकारीका बीचमा सूचना आदान प्रदानसँगै समन्वय गरेर अघि बढ्नु पर्ने औल्याए ।