पृतनापति ट्रफी : बज्रदल प्रथम

नेपालगञ्ज – नेपालगञ्जमा सञ्चालन भएको पृतनापति ट्रफी प्रतियोगितामा बज्रदल, नेपालगञ्ज प्रथम भएको छ ।

उत्तरपश्चिम पृतनाअन्तर्गतका गण र गुल्मको सहभागिता रहेको प्रतियोगितामा तीन वटा खेलको उपाधी जित्दै बज्रदल प्रथम भएको हो । बज्रदलले भलिबल, बक्सिङ र स्वीमिङ प्रतियोगिता जितेको छ ।

चन्दननाथ गण, जाजरकोटले दुई वटा खेलको उपाधी जितेको छ । चन्दननाथले फुटबल र बास्केटबलको उपाधी जितेको हो । नन्दबक्स गण, जुम्लाले तेक्वान्दो र नयाँ सबुज गण, सुर्खेत एलथेटिक्समा प्रथम भएको छ ।

पृतनापति ट्रफी प्रतियोगितामा सात वटा खेलमा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगिताका विजेता टीम तथा खेलाडीलाई उत्तरपश्चिम पृतनाका सहायक रथी मधुकरसिंह कार्कीले पुरस्कार वितरण गर्नुभयो । प्रतियोगिताको उपाधी जितेको श्री नम्बर ४ बाहिनीका बाहिनीपति सहायक रथी प्रकाश थापा र धेरै खेलमा प्रथम भएको बज्रदलका गणपति प्रमुख सेनानी श्याम आत्रेय पौडेललाई उत्तरपश्चिम पृतनाका सहायक रथी कार्कीले ट्रफी हस्तान्तरण गर्नुभयो ।

यसैबीच, बिहीबार भएको फुटबल प्रतियोगिताको फाइनलमा चन्दननाथले नन्दबक्स गण, जुम्लालाई टाइब्रेकरमा ८–७ गोलले पराजित गरेको छ । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन सकेको थिएन ।

टाइब्रेकरमा नन्दबक्सका विकास लिम्बु र विष्णु खड्काको प्रहारलाई चन्दननाथका किपर हर्कबहादुर साउदले रोकेपछि फुटबलको उपाधी चन्दननाथको पोल्टामा गएको थियो । नन्दबक्सका विनोद बस्नेत, विकास बोहरा, शिव थापा, पूर्ण बोहरा, चित्र बराम, राजेश थापा, उमेश न्यौपानेले गोल गरेका थिए । चन्दननाथका विनोन नेपाली, अरविन कार्की, प्रेम विष्ट, सन्देश श्रेष्ठ, चित्रबहादुर मिजार, उमेश महतो, हर्कबहादुर साउद र महेशकुमार सारुले गोल गरेका थिए । नविन चौधरीले पेनाल्टी मिस गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !