आरजु र जनार्दनले बैधानिक अर्थतन्त्रलाई कमजोर पारे : शंकर पोखरेल
नेपालगञ्ज – नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालिन अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्रीपत्नी आरजु देउवाका कारण वैधानिक अर्थतन्त्र कमजोर भएको टिप्पणी गर्नु भएको छ ।
मिसन ग्रासरुट तथा राष्ट्रिय युवा संघ, नेपालको नवौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जनार्दन र आरजुले गर्दा अवैधानिक अर्थतन्त्र बलियो भएको आरोप लगाउनुभयो । उहाँले वैधानिक अर्थतन्त्रलाई कमजोर बनाउने कामले अध्यारो कोठामा नेपाली रुपैया जम्मा गरेर राखिएको बताउनुभयो ।
महासचिव पोखरेलले प्रचण्डको चरम दक्षिणपन्थी नांगो दलालीका कारण एमालेसँगको गठबन्धन टुटेको बताउदै अहिलेको गठबन्धन पनि लामो समयसम्म नजाने दोहो¥याउनुभयो । उहाँले मन्त्रालय बाँडफाँडमै अहिलेको गठबन्धनमा असर देखिने बताउनुभयो ।
एमालेले ग्रासरुट कार्यक्रम सञ्चालन गरिरहेको छ । महासचिव पोखरेलले ग्रासरुट सकिदा पार्टी विस्तारसँगै नेता तथा कार्यकर्तामा देखिएको मनमुटावको अन्त्य हुनुपर्ने बताउनुभयो ।
स्थायी कमिटि सदस्य भानुभक्त ढकाल र राजन भट्टराई, युवा विभाग इन्चार्ज महेश बस्नेतले नयाँ पुस्तालाई पार्टीमा ल्याएर जिम्मेवारी दिनुपर्ने बताउनुभयो ।
एमाले निकट युवा संघको चैत्र २७ देखि २९ गतेसम्म बाँकेमा नवौ राष्ट्रिय महाधिवेशन हुँदैछ । त्यसका लागि मंगलबार नै पार्टी कार्यालयमा सचिवालय स्थापना गरिएको युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिनुभयो । महाधिवेशनमा एक हजार सात सय प्रतिनिधि आउँदैछन् ।