महायज्ञकाे अभियानलाई खजुराले बजेट छुट्याउने


खजुरा – खजुरा क्षेत्रलाई पर्यटकिय केन्द्र बनाउने उद्देश्य सहित गत २४ गते देखी सुरु भएको श्रीमदभागवत ज्ञान महायज्ञ आज समापन हुँदैछ ।

पर्यटकिय क्षेत्रसहित खजुरामा विशाल लक्ष्मीनारायणको मूर्ति स्थापना गर्ने लक्ष्य राखिएको महायज्ञबाट ५० लाख बढी रकम संकलन भएको महायज्ञ सम्पादन समितिले जानकारी दिएको छ ।

महायज्ञबाट राखिएको धार्मिक पर्यटनको प्रस्तावलाई अनुमोदन गर्दै खजुरा गाँउपालिकाले धार्मिक पर्यटनसहित खजुरामा स्थापना गरिने मूर्तिको योजनालाई गाँउपालिकाको गौरवको योजनामा राख्ने घोषणा गरेको छ ।

महायज्ञस्थलमा बोल्दै खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विकले महायज्ञबाट सुरु गरिएको अभियानलाई आगामी आर्थिक वर्षबाट गौरवको आयोजनामा समावेश गरि कम्तीमा २० लाख नघट्ने गरि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पालिकाले थाल्नु पर्ने योजना महायज्ञबाट प्रस्तावित भएको उल्लेख गर्दै धार्मिक पर्यटनको क्षेत्रकारुपमा खजुरालाई विकास गर्न गाँउपालिकाले कुनै कसर बाँकी नराख्ने बताए ।

उनले आफ्नो व्यक्तिगत तर्फबाट एक महिनाको तलवमा थपेर ५१ हजार महायज्ञलाई दान गर्ने समेत घोषणा गरे ।

महायज्ञमा मंगलबार मात्र १५ लाख बढी संकलन भएको यज्ञ सम्पादन समितिका कोषाध्यक्ष विजय बुढाथोकीले जानकारी दिए । मंगलबार स्थानीय धनसिंह राना, हरिओम सुनार लगायतबाट एकलाख भन्दा बढी दान प्राप्त भएको उनले बताए । धार्मिक पर्यटनलाई भन्दै मंगलबार मात्र ५ सय बढी जेष्ठ नागरिकबाट ५ हजार बढी रकम दान प्राप्त भएको बुढाथोकीले बताए ।

सुस्तश्रवणका विद्यार्थी भागवत कथा सुन्न महायज्ञमा

महायज्ञमा श्रीमदभागवत कथा सुन्न सुस्तश्रवण शक्ति भएका विद्योर्थीहरु समेत महायज्ञमा उपस्थित भएका थिए । कथावाचकले चलाएको ओंठ र इशाराको आधारमा उनीहरुले कथाको भाव बुझेको राष्ट्रिय आधारभूत विद्यालयकी शिक्षिक रमा थापाले बताइन् ।

कथालाई साँकेतिक भाषामा बुझाइएको र अधिकांशले वाचकको इसाराबाटै कथाको सार ग्रहण गरिको उनले बताइन् ।


error: यो सुविधा उपलब्ध छैन !