दादुरासम्बन्धी अभिमुखीकरण अभियान
नेपालगञ्ज – नेपालगञ्जका विभिन्न वडामा दादुरा खोपसम्बन्धी अभिमुखीकरण गरिएको छ ।
दादुरा संक्रमण फैलिएपछि विशेष अभियानको रुपमा दादुराविरुद्धको खोप लगाउने काम भइरहेपनि त्यसमा समुदायबाट खासै चासो नदेखाइएपछि नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले अभिमुखीकरण गरेको हो ।
दादुरा संक्रमण फैलिएका सबै वडाहरुमा अभिमुखीकरण चलाउने रणनीति बनाइएको छ । अभिमुखीकरणमा जनप्रतिनिधि, स्थानीय अगुवा, धार्मिक गुरुहरुलाई सहभागी गराइएको छ । अभिमुखीकरणमा दादुराबारेमा जानकारी दिनुका साथै अहिले देखिएको संक्रमणलाई हटाउन खोप लगाउनु पर्ने कुरामा जोड दिइएको छ ।
दादुराले बालकको मृत्यु भइसक्दा पनि सम्बन्धित वडा र अरु वडाले दादुराविरुद्धको खोप लगाउने चासो नदेखाएको सम्बद्धको भनाई छ । दादुराविरुद्धको खोप लगाउने र भिटामिन ए क्याम्पसुल खुवाउने अभियानलाई प्रभावकारी बनाउन सकेमा दादुराको संक्रमण हटेर जाने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको उपस्थितिमा पालिका र वडास्तरीय अभिमुखीकरण गरिएपछि अरु वडाहरुमा स्वास्थ्यकर्मीले जनचेतनामूलक कार्यक्रम गरेका हुन् । दादुरा संक्रमण देखिएपछि आफैले आफ्ना बालबालिकालाई बोकेर स्वास्थ्य संस्थामा आउनु पर्नेमा स्वयंसेविकाहरु घरघरमा बोलाउदा पनि धेरैजसोले खोप लगाएका छैनन् । खोप लगाउनेको संख्या कमी हुनु नै स्वास्थ्यकर्मीको टाउको दुखाईको विषय बनेको छ ।
संक्रमण बढ्दोक्रममा रहेपछि ६ महिनादेखि १५ वर्षका बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन शुरु गरिएको हो ।