दादुरा संक्रमणको अवस्था बुझ्न काठमाडौंबाट टोली आयो
नेपालगञ्ज – नेपालगञ्जमा दादुरा संक्रमण फैलिएपछि स्वास्थ्य सेवा विभागको टोली नेपालगञ्ज आइपुगेको छ ।
विभागका व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेस शर्मा र परिवार कल्याण महाशाखाका खोप अधिकृत बसन्त श्रेष्ठ नेपालगञ्ज आइपुगेका छन् । नेपालगञ्ज आइपुगेको टोलीले यहाँका स्वास्थ्य अधिकारीसँग छलफल गरेका छन् । उनीहरु समुदायमा पनि जादैछन् ।
नेपालगञ्जमा पुस १२ गतेदेखि दादुरा संक्रमण देखिएको छ । त्यसलगत्तै पठाएको स्याम्पलको १९ गते रिपोर्ट आएको थियो । दादुरा पुष्टि भएको ६ दिनपछि काठमाडौंबाट टोली आएको छ । नेपालगञ्जका ११ वटा वडामा दादुरा फैलिएको छ । संक्रमितको संख्या ७६ जना पुगेको छ । संक्रमण बढ्दो छ ।
तीन दिनदेखि नेपालगञ्जका ५, ७ र ८ नम्बर वडामा दादुराविरुद्धको खोप लगाइएको छ । अहिलेसम्म एक हजार २ सय ५८ जनाले खोप लगाएका छन् ।
दादुरा खजुरा गाउँपालिकामा पनि देखिएको छ । खजुरामा दुई जनामा दादुरा देखिएको छ ।