दलबहादुर माओवादीमा, सुनार र खरेलमा बाँडियो माओवादी

नेपालगञ्ज – नेकपा एकीकृत समाजवादीका नेता दलबहादुर सुनार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

लामो समयसम्म एमालेको राजनीति गरेका सुनार संविधान सभा सदस्य एवं पूर्वराज्यमन्त्रीसमेत हुन् । एमालेबाट माधवकुमार नेपालको समूह अलग भएपछि नेकपा एकीकृत समाजवादीमा लागेका नेता सुनार सोमबार साँझ नेकपा माओवादीमा प्रवेश गरेका छन् ।

माओवादी नेतृ एवं पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदीले सुनारलाई पार्टी प्रवेश गराउनुभयो । सुनार बाँके क्षेत्र नं. ३ प्रदेश (क) का स्वतन्त्र उम्मेदवार रहेका छन् । माओवादीले त्यहाँबाट आइपी खरेललाई अगाडि सारेको छ ।

सुनारको पार्टी प्रवेशसँगै माओवादीमा थप विवाद सिर्जना हुने देखिएको छ । खरेलका विरुद्धमा माओवादीको एउटा समूहले राजीनामा दिएर विरोध जनाइसकेको छ । त्यही समूह सुनारको पार्टी प्रवेशमा हावी देखिन्थ्यो । पार्टी प्रवेश कार्यक्रममा खरेलको उपस्थिति थिएन ।

सुनार र खरेलको उम्मेदवारीबारेमा सुवेदीले छलफल गर्दै अगाडि बढ्ने प्रतिक्रिया दिनु भएको छ । यद्यपि, त्यहाँ रहेका अन्य नेताहरुले पार्टीले दलबहादुरलाई मत हाल्ने बताएको छ । माओवादीमा केहीले खरेल र केहीले सुनारलाई बोक्ने प्रष्ट देखिएको छ । सुनारले आफ्नो उम्मेदवारी कुनै हालतमा फिर्ता नहुने ठोकुवा गर्नुले माओवादीका नेताले सुनारलाई राम्रै आश्वासन दिएको बुझ्न सकिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !