नेपालगञ्जमा सरकारीसँगै निजी विद्यालयको अनुमगमन
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिकसँगै संस्थागत विद्यालयको पनि अनुगमन थालेको छ ।
नगर प्रमुख प्रशान्त विष्ट गतसातादेखि आकस्मिक रुपमा विद्यालयको अनुगमनमा निस्केका छन् ।
बुधबार शिक्षा शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा सहित नगर प्रमुख विष्टले बसुदेपुरस्थित जगतज्योती माध्यामिक विद्यालय, महाराजा मावि पुरैना र जय बागेश्वरी माध्यामिक विद्यालयको अनुगमन गर्नुभयो । जगतज्योती माविमा नियमित पठन पाठन राम्रो देखिएपनि विद्यालयमा प्राचार्य ईश्वर पौडेल सहित हाजिर रजिष्ट्ररमा अनुपस्थित ५ जना शिक्षकलाई गयल गर्दै टोलीले समयमै विद्यालयमा पुगेर हाजिर गर्न निर्देशन दिएको छ । यसैगरी महाराजा माविमा विद्यार्थी र शिक्षकहरु कोठा बाहिर फेला पारेपछि अनुगमन टोलीले नियमित पठनपाठनका लागि निर्देशन दिएको थियो ।
संस्थागत विद्यालयको रुपमा पहिलो पटक जय बागेश्वरीबाट टोलीले अनुगमन थालेको हो । सो क्रममा नगर प्रमुख विष्ट सहितको टोलीले विद्यालयको विभिन्न विषयको जानकारी लिएको थियो । टोलीले शौचालयसहित भौतिक अवस्था र छात्रवृत्तिका विषयमा जानकारी लिएको थियो ।
नगर प्रमुख विष्ट र शाखा प्रमुख थापा सम्मिलित अनुगमन टोलीले तीनवटै विद्यालयका विद्यार्थी तथा शिक्षकसँग समेत प्रत्यक्ष परामर्श गरेको थियो । नगरको सुधारका लागि शिक्षामा विशेष जोड दिइएको भन्दै नगर प्रमुख विष्टले शैक्षिक सुधार भएपनि अन्य क्षेत्रमा सुधार देखिने भएकाले शिक्षामा विशेष प्राथमिकता दिइएको बताउनुभयो । उहाँले अनुगमन जुनसुकै समयमा र जुनसुकै विद्यालयमा पनि हुन सक्ने बताउनुभयो । अनुगमनलाई निरन्तरता दिदै विद्यालयहरुको आवश्यक सुधारका लागि पनि क्रमश पहल गरिने नगर प्रमुख विष्टले बताउनुभयो ।
गत सातादेखि सुरु भएको अनुगमनका कारण सामुदायिक विद्यालयमा सकारात्मक प्रभव पारेको देखिएको छ ।