नेपालगञ्ज म्याराथनको आठौ संस्करण मंसीर ३ मा, खेलाडी दर्ता खुल्ला
नेपालगञ्ज – हरेक वर्ष आयोजना हुने धारा नेपालगञ्ज म्याराथनको आठौं संस्करण मंसीर ३ गते शनिबार हुने भएको छ ।
नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसीर ५ गतेलाई स्मरण गर्दै हरेक मंसीरको पहिलो शनिबार हुँदै आएको म्याराथनको तयारी सुरु भएको छ ।
क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको आठौं धारा नेपालगञ्ज म्याराथनका लागि २०७९ असार १५ गते देखि खेलाडी दर्ता खुल्ला गरिएको छ । नेपालगञ्ज म्याराथनको वेभसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने छ ।
गत बर्ष झैं यस बर्ष पनि बिभिन्न दश वटा विधामा स्पर्धा समावेश गरिएको छ । पुरुषतर्फ म्याराथन (४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन (२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेर समूह), २ किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ ।
केही विधातर्फ नगद पुरस्कार राशीमा वृद्धि हुने आयोजकले बताएको छ । केही सरप्राइज प्याकेज पनि घोषणा गर्ने तयारी भएको छ । आठौं संस्करणमा कम्तीमा आठ देशका धावकलाई सहभागी गराउने तयारी भइरहेको क्रियटिभ ह्याण्डसका संस्थापक अध्यक्ष टीएस ठकुरीले जानकारी दिनुभयो ।
पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सुत्रमा बाँधिएको सद्भावको शहर हो । देशको संघीय संरचनामा नेपालगञ्ज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुख धार्मिक एवं प्राकृतिक पर्यटकीय स्थलको मुख्य प्रवेश द्वार पनि हो । सामाजिक एकताको प्रतीक खेलकुद विधामार्फत शहरको चिनारी कायमै राख्न आठ बर्ष अघि नेपालगञ्ज म्याराथनले यात्रा प्रारम्भ गरेको थियो ।
विश्व मानचित्रमा लामो दौड अर्थात म्याराथनको अलग महत्व हुने गर्दछ । यसले स्वस्थ रहन सन्देश दिन्छ, बालकदेखि वृद्धसम्मलाई समेट्छ । साथै ठाउँ बिशेषको पहिचान स्थापित गर्छ, बिभिन्न पेशा एवं व्यवसायका मानिस एकैपटक एक ठाउँमा जमघट गराउँछ । यसले सामाजिक एकताको सन्देश दिन्छ । एक हिसाबले म्याराथन एउटा उत्सव हो । उत्सव साझा हुनुपर्छ । नेपालगञ्ज म्याराथन त्यही उद्देश्यबाट प्रेरित रहेको आयोजकको भनाई छ । त्यसका लागि सबैको सहभागिता, साझेदारी, सहकार्य जरुरी छ । म्याराथनलाई यसपाली अझ भब्य र उत्सवमय बनाउन हामी लागि परेका छौं । विगतका सहयात्रीहरु जोडिएका छन् ।
यसपाली विश्वका शीर्ष म्याराथनको प्रवद्र्धकको कार्य गर्दै आएको वल्र्ड्स म्याराथन्सले सुचिकृत गरी धारा नेपालगञ्ज म्याराथनको अन्तर्राष्ट्रिय ब्रान्डिङमा मद्दत गरेको छ । यसले गर्दा यस बर्ष बिभिन्न देशका प्रतिष्ठित धावकहरुको सहभागिता रहने आयोजकको दावी छ ।
नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए । त्यसैगरी दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्ला निवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भूमिराज राई, पाँचौंमा सेनाका भिमबहादुर साउद, छैठौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की र सातौंमा एपीएफकै किरणसिंह बोगटी विजेता बनेका थिए भने महिला हाफ म्याराथनतर्फ सातौंमा गत बर्ष गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन् । त्यसैगरी पहिलो एपीएफका कृष्णेश्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने, छैटौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए । दुई संस्करण जित्ने एकमात्र खेलाडी कान्छीमाया कोजु हुन् ।