महिला कलेजको उद्घाटन, त्रुटी नै त्रुटी

नेपालगञ्ज – नेपालगञ्जमा मंगलप्रसाद महिला कलेजको उद्घाटन गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको विशेष पहलमा महिला कलेजको स्थापना भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले महिला कलेज आत्मनिर्भर नहुँदासम्म नगरपालिकाबाट सहयोग भइरहेको बताउनुभयो ।

नेपालगञ्जका मधेसी र मुस्लिम छात्रालाई लक्षित गरेर महिला कलेज बनाइएको छ । १२ कठ्ठा जमिनमा साढे ५ करोड रुपैया खर्च गरेर ४० कोठे भवन बनेको छ ।

कलेजको उद्घाटन पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाले गर्नुभयो । उहाँले मधेसी र मुस्लिम छात्राले आफ्नै ठाउँमा उच्च शिक्षा पढ्ने सुविधा पाएको बताउनुभयो ।

प्रदेश सांसद आइपी खरेलले महिला कलेजलाई नगरपालिकाले मात्रै नभएर जिल्लावासीले नै अपनत्व लिनु पर्ने बताउनुभयो ।

महिला कलेजका प्रमुख रविन्द्र कर्णका अनुसार, व्यवस्थापनमा बीबीएस र बीबीए, शिक्षामा बीएड, कानूनमा ५ वर्षे बीए एलएलबी र विज्ञानमा बीसीए र बीआइटी पढाउने तयारी गरिएको छ ।

कलेजको उद्घाटन भने अलि हतारमा गरिएको देखिन्थ्यो । महिला कलेजले अहिलेसम्म सम्बन्धन पाइसकेको छैन । हतारमा बनाउदा शिलालेख नै गल्ती लेखिएको छ । शिलालेखमा उपकुलपतिलाई कुलपति लेखिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका पदाधिकारीको नामको नयाँ शिलालेख बनाउन नभ्याएको देखिन्छ । पुरानै शिलालेख राखेर काम चलाइएको छ । शिलालेखमा प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मी रहेको छ । जबकी रेग्मी नेपालगञ्जबाट गइसकेपछि गुरुप्रसाद सुवेदी हुँदै अहिले जगत बस्नेत आएका छन् । मञ्चमा भने प्रमुख प्रशासकीय अधिकृत बस्नेत अतिथि थिए ।

नेपालगञ्जमा महिला कलेजको सपना पूरा भएको छ । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति नै अतिथि भएर आइसकेकाले सम्बन्धन प्राप्त हुनेमा शंका नरहेको बताइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !