‘अब बसन्ते मकै, मसिनो र चैते धानमा जोड दिनुपर्छ’
नेपालगञ्ज – कृषि ज्ञान केन्द्र, बाँकेले बसन्ते मकै, मसिनो धान र चैते धानलाई प्राथमिकता दिएर अघि बढ्नु पर्ने बताएको छ ।
कृषि ज्ञान केन्द्र, बाँकेको आयोजनामा सोमबार नेपालगञ्जमा स्थानीय तहसँग योजना तर्जुमा गोष्ठीमा ज्ञान केन्द्रका प्रमुख सागर ढकालले पालिका, संघ संस्थाले अब बसन्ते मकै, मसिनो धान र चैते धानलाई प्राथमिकता दिएर अघि बढ्नु पर्ने बताउनुभयो ।
कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले बाँकेमा सिंचाईको सुविधा बढिरहेकाले पालिकाहरुले यी तीन बालीलाई पकेट क्षेत्रको रुपमा विकास गरेर जानु पर्ने बताउनुभयो ।
बाँकेमा धान उत्पादन राम्रो भएपनि मोटो धान लगाउने गरिएको छ । बजारमा माग मसिनो धानको रहेको छ । ठूलो मात्रामा मकै आयात हुने गर्दछ । सिंचाई सुविधा बढ्दै गएकाले जिल्लामै बसन्ते मकैको संभावना राम्रो रहेको छ । बाँकेमा केही वर्षयता चैते धान लगाउन थालिएको छ । सिक्टा सिंचाईले पानी छोड्ने वित्तिकै बाँकेमा चैते धान राम्रो हुन सक्ने सम्बद्धहरु बताउँछन् ।
गोष्ठीको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले बेमौसमी बाढीबाट धानमा क्षति व्यहोरेका किसानले अहिलेसम्म राहत नपाएको गुनासो गर्नुभयो ।
गोष्ठीमा सबै पालिकाका कृषि शाखाका प्रमुख तथा प्रतिनिधि, संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।