फुटबल खेल्न लायक भयो रंगशाला

 

नेपालगञ्ज – नेपालगञ्ज रंगशाला फुटबल खेल्न लायक भएको छ । दुई वर्षदेखि पलाएको घाँसलाई काटेर सफा गरिएपछि फुटबल मैदान खेल्न लायक भएको हो ।
रंगशालामा ३६ लाख बढीको बर्मुडा दुबो रोपेर अन्तर्राष्ट्रियस्तरको बनाएपनि पछिल्लो दुई वर्ष खेल गतिविधि ठप्प हुँदा मैदान झाडीमा परिणत भएको थियो । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सिंगारिएको रंगशालामा त्यसपछि केही प्रतियोगितामात्रै भएको छ ।
रंगशालामा बर्मुडा दुबो रोपेपछि स्थानीय खेलाडी र क्लवले खेल्न पाएका छैनन् । दुई वर्षदेखि पलाएको घाँसले बर्मुडालाई मारिसकेको छ । नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक, राँझाका सेनाले घाँस काटिदिएपछि खेल्न लायक भएको रंगशालामा जिल्लाका खेलाडीलाई खेल्न दिने तयारी गरिएको छ । बर्मुडा घाँस हुँदा खेल्न नपाएका जिल्लाका खेलाडीले बर्मुडा निर्मूल भएपछि खेल्न पाउने भएका छन् ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जिल्लाका सिनियर फुटबल खेलाडीलाई रंगशालामा अभ्यास गर्न दिने तयारी भएको जानकारी दिनुभयो । ‘सिनियर खेलाडीलाई कार्ड बनाइदिएर रंगशालामा खेल्ने व्यवस्था मिलाउँछौं, कार्यालय प्रमुख चन्दले भन्नुभयो, खेलाडीलाई अब पनि खेल्न दिइएन भने फेरि उस्तै हुन्छ ।’
नेपालगञ्ज रंगशालामा फुटबल मैदानलगायत अन्य खेलका ५० करोडका संरचना बनेका छन् । यो सबै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका देन हुन् । यी संरचनाको रेखदेख कसले र कसरी गर्ने यकिन भइसकेको छैन ।
नेपालगञ्जमा आधुनिक रंगशाला छ । फुटबल प्रशिक्षक छन् । अहिले नै बाँके जिल्लाको टीम उतार्नु प¥यो भने समस्या देखिन्छ । नेपालगञ्ज रंगशालामा जिल्लाको टीम बनाएर खेलाडीलाई नियमित अभ्यास गराउनुपर्ने खेलसम्बद्धहरुको आवाज रहेको छ ।
घाँस काटेपछि रंगशालाको मैदान चिटिक्क भएको छ । रंगशाला अब खेलाडीको प्रतिक्षामा रहेको छ । खेलकुद प्रशासनले फुटबल क्लवसँग समन्वय गरेर छिटो भन्दा छिटो खेलाडीलाई खेल्ने वातावरण बनाउनु पर्छ । यस क्षेत्रकै फुटबलमा दबदबा राख्ने गरेको बाँके जिल्लामा पछिल्लो समयमा टीम बनाउन पनि समस्या हुनु लाजमर्दो अवस्था मान्छन् पुराना खेलाडीहरु ।
रंगशालाको रेखदेख र व्यवस्थापनमा केन्द्रले पैसा पठाउन कन्जुस्याई गरिरहेको छ । पछिल्लो दुई वर्षदेखि पैसा नै पठाएको छैन । फुटबल मैदानको घाँस काट्नु पर्छ, पानी हाल्नु पर्छ । प्याराफिट सफाई गर्नुपर्छ । न त जनशक्ति छ, न पैसा नै छ । करोडौ खर्च गरेर संरचना बनाउने र त्यसलाई कसरी रेखदेख र व्यवस्थापन गर्ने भन्ने कार्यविधि नबन्दा समस्या हुने गरेको छ । नेपालगञ्ज रंगशालामा आधुनिक पौडी पोखरी बनेको छ । त्यसबाट उठेको पैसाले आर्थिक खर्च धान्ने भनिएको छ । त्यो सम्भव नभएको कर्मचारीहरु बताउँछन् । रंगशालाको रेखदेख र व्यवस्थापनमा वार्षिक दश लाख रुपैया चाहिने कार्यालय प्रमुख चन्दको भनाई छ ।


error: यो सुविधा उपलब्ध छैन !