बाँकेमा नौ गतेदेखि लकडाउन
नेपालगञ्ज – बाँकेमा नौ गतेदेखि लकडाउन हुने भएको छ ।
दैनिक ठूलो संख्यामा कोरोना संक्रमित बढिरहेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), बाँकेले एक हप्ता लकडाउन गर्ने निर्णय गरेको हो ।
बाँकेमा मंगलबारसम्ममा ८ सय ६६ जना संक्रमित छन् । नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै ५ सय बढी छन् । संक्रमितको केही दिनदेखि दैनिक नै मृत्यु भइरहेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक हप्ता लकडाउन गर्नका लागि केन्द्रमा सिफारिस गरेको बताउनुभयो । डीसीसीएमसीको बैठकमा बाँके जिल्लाभरी नै लकडाउन गर्ने कि नेपालगञ्ज उपमहानगरपालिकाभित्र मात्रै गर्ने भन्ने विषयमा दुईमत देखिएको छ । प्रमुख जिल्ला अधिकारी गेलालले केन्द्रसँगको समन्वयमा एरियाको टुंगो लाग्ने बताउनुभयो ।
कुनै पनि ठाउँमा दुई सय बढी भन्दा संक्रमित भएमा स्थानीय प्रशासनले संक्रमणलाई रोक्न लकडाउन गर्न सक्छ ।
डीसीसीएमसीको बैठकमा राजनीतिक दल, नेपालगञ्ज उद्योग बाणिज्य संघ, चिकित्सकलगायतको उपस्थिति थियो । चिकित्सकहरुले केही दिनदेखि नै लकडाउन गर्न जोड गरिरहेका थिए । अहिले बढिरहेको संक्रमणको चेनलाई ब्रेक गर्नुपर्ने चिकित्सकहरुको भनाई रहेको छ ।