परिवारकै ‘व्यवहार परिवर्तन’
खजुरा – सबैको घर अगाडि बाल्टिन राखिएको छ । बाल्टिन अगाडि साबुन छ । विहान उठ्ने बित्तिकै बाल्टिनमा पानी भर्ने टोलकै बासिन्दाको दैनिकी बनेको छ ।
खजुरा–२, सत्यालटोलकी लक्ष्मी सत्यालको विहान उठ्ने बित्तिकै शौचालय र बाहिरपट्टी राखिएको बाल्टिनमा पानी भर्नु पहिलो काम हुन्छ । लक्ष्मी भन्नुहुन्छ, ‘विहान बाल्टिनमा राखिएको पानी र सावुनले दिनभरी सबैले हात धुनुहुन्छ । सिधियो भने दिउँसो फेरि भर्छु ।’
सरसफाई नहुँदा धेरै प्रकारका रोग लाग्छन् भन्ने कुरा लक्ष्मीले बुझ्नु भएको छ । नबुझेकाहरुलाई पनि गाउँमा विभिन्न माध्यमबाट बुझाउने काम भएको छ ।
कोरोना कहरका बेला सरसफाईअन्तर्गत हात धुने कुरा खुब चर्चामा आयो । सेनिटाइजरको बिक्री वितरण बढ्यो । गाउँघरमा सावुन र पानीले मिचिमिचि हात धुनुपर्छ भनेर सरकारी, गैरसरकारी संघ संंस्थाहरु घरघरमा पुगे । यो बीचमा धेरै मानिसको व्यवहारमा परिवर्तन आएको पाइएको छ ।
लक्ष्मी भन्नुहुन्छ, ‘शौचालय गरेपछि, खाना खानु अघि, फोहोर छोएपछि, बाहिरबाट आएपछि, हाछ्यु गरेपछि सावुन पानीले मिचिमिचि हात धुनुपर्छ । यो कुरा अहिले हाम्रो टोलमा सबैले बुझेको मात्रै होइन, व्यवहारमै लागु गरेका छन् ।’
सत्यालटोलका बच्चामा पनि सरसफाईबारेमा चेतना आएको छ । बच्चाहरु हात मिचेर धुने तरिका सिकाउने भएका छन् । जेष्ठ नागरिकलाई बाल्टिनमा राखिएको पानीले हात धुन सजिलो भएको छ । धारा चलाएर हात, खुुुट्टा धुन बालबालिका र जेष्ठ नागरिकलाई गाह्रो हुन्थ्यो । बाल्टिनमै पानी र अगाडि नै सावुन राखिएपछि बालबालिका, युवा, जेष्ठ नागरिक सबैलाई सहज भएको छ । लक्ष्मी भन्नुहुन्छ, ‘बालबालिकामा राम्रो प्रभाव परेको छ । नुहाउन र होमवर्क गर्न नमान्ने बच्चालाई कथा सुनाएर, भिडियो देखाएरसमेत मनाउने गरिएको छ ।’
सत्यालटोल दलित बस्ती हो । यहाँ २६ घरजति छन् । स्थानीय कौशिला सार्कीले टेलिभिजनमा हेरेको हात धुने तरिका अहिले आफूहरुले गरिरहेको बताउनुभयो ।
खजुरा–१, नेउलीडाँडाकी रेश्मा थापाले अचेल पानी तताएर खानुहुन्छ । पहिला पानी तताएर खानु पर्छ भन्ने थापालाई ज्ञान थिएन । नेउलीडाँडालाई खजुराको पिछडिएको क्षेत्र मान्ने गरिन्छ । यहाँका बासिन्दामा पनि सरसफाईमा चेतना बढेको छ । घर अगाडि बाल्टिन र सावुन राखेर पटकपटक हात धुने गरिएको छ । नेउलीडाँडाकी बबिता विश्वकर्माले सरसफाई नहुँदा बिरामी परिन्छ भन्ने कुरा समूहमा छलफल हुन थालेपछि सबैजना सचेत भएको बताउनुभयो ।
खजुरा गाउँपालिकाको यीसहित ५ वटा वडाका दलित, पिछाडिएको बस्तीमा कोरोना कहर शुरु भएपछि अक्सफामको सहयोगमा बीगु्रपले सञ्चालन गरेको दश महिने ‘स्वच्छताको लागि व्यवहार परिवर्तन’ नामक परियोजनाले एक हजार घरधुरीका बासिन्दाको बानी परिवर्तन गराउन सघाएको छ ।
खजुरा गाउँपालिकाको वडा नं. १ को नेउलीडाँडा, २ को सत्यालटोल, ३ नम्बरको कगाउँ र धौलागिरी, ४ नम्बरको बुद्धपुर र चल्तुवा र ८ नम्बर वडाको क्रान्तिपुर र घियाटोलमा गत जुनदेखि मार्च महिनासम्म परियोजना सञ्चालनमा थियो ।
यो क्रममा समूहहरु बनाइयो । समूहमा रहेका व्यक्तिलाई सरसफाईबारेमा जानकारी दिन्थ्यो । उनीहरुले सिकेका कुरालाई घरमा उतारेका छन् कि छैनन् हेरिन्थ्यो ।
सरसफाईका साथसाथै लैंगिक समानताका कुराहरु सिकाइन्थ्यो । घरको काम महिला र पुरुषले मिलेर गर्नुपर्ने जानकारी दिइन्थ्यो । ‘घरासयी काम महिला पुरुष मिलेर गरौं’ नारा नै अगाडि सारिएको छ । यसले पनि गाउँमा केही परिवर्तन ल्याएको छ ।
श्रीमतीले खाना पकाउने बेला श्रीमानले बच्चा हेरिदिने, श्रीमतीले तरकारी काट्दा श्रीमानले मसला पिसिदिने, श्रीमानले नै खाना पकाउने र भाडा माझिदिने गर्न थालेका छन् । श्रीमानले भान्छाको काम गर्ने कुरा सामान्यझै लागेपनि हाम्रो समाजमा पुरुषको मान प्रतिष्ठासँग जोडेर हेर्ने गरिन्छ । भान्छाको काम श्रीमतीले नै गर्नुपर्छ भन्ने मान्यता राखेको पाइन्छ ।
सत्यालटोलकी कौशिलालाई पनि भान्छाको काम श्रीमतीले मात्रै गर्नुपर्छ भन्ने लाग्थ्यो । काम विशेषले बाहिर गएर घरमा ढिलै आएपनि आफैले खाना पकाउनु पथ्र्यो । श्रीमानले भान्छाको काममा खासै सहयोग गर्दैनथे ।
कोरोना कहरको बीचमा गाउँमा ‘अक्सफाम बीग्रुप समूह’ बन्यो । त्यो समूहमा कौशिला बस्नु भयो । समूहमा दैनिकजसो नै लैंगिक समानताको कुरा हुन थाले ।
मिलेर काम गर्दा सहज, सरल र छिटोमात्रै होइन, एक अर्कामा विश्वास र प्रेम बढाउँछ नै । समूहमा सिकेका लैंगिक समानताका कुरा कौशिलाले घरमा आएर भन्नुहुन्थ्यो । मिस्त्री काम गर्ने श्रीमान टेकबहादुर सार्की लामो समय विदेशमा बसेर आएकाले यस्ता कुरा बुझ्नु हुन्थ्यो ।
कौशिलाले केही महिनादेखि नर्सिङहोम नेपालगञ्जमा सरसफाईको काम गर्नुहुन्छ । साँझ घर फर्किन ढिला हुँदा श्रीमान टेकबहादुरले खाना पकाएर राख्नु हुन्छ । छोराछोरी पनि ठूला भइसकेकाले भान्छाको काम उनीहरुले पनि गर्छन् । ‘अहिले खाना मैले नै पकाउनु पर्छ भन्ने छैन, श्रीमान, छोराछोरी जसको मेसो मिल्छ, उसैले पकाउँछन्, कौशिलाले भन्नुभयो, ‘गाउँमा स्वच्छताको लागि व्यवहार परिवर्तन कार्यक्रम आएपछि परिवारकै व्यवहारमा परिवर्तन आएको छ ।’
स्वच्छतासम्बन्धी जानकारी दिइएकाले टोलमा सरसफाई भएको छ । लैंगिक समानताका कुराले घरभित्रका सानातिना मनमुटावहरु हटेका छन् । भेदभाव गर्नु हुँदैन भन्ने कुरा सिकाइएको छ । सत्यालटोलकी लक्ष्मीले टोलमा साँच्चै परिवर्तन आएको बताउनुभयो । आमाबुवाले मिलेर काम गरेको देख्दा बच्चामा राम्रो प्रभाव परेको छ ।
स्वच्छताको लागि व्यवहार परिवर्तनअन्तर्गत लैंगिक अधिकृत सोम गुरुङले टोलहरुमा दिइएको लैंगिक समानता सम्बन्धी तालिमले घरघरमै राम्रो प्रभाव परेको बताउनुभयो । ‘शुरुमा आउदा भान्छाको काम पनि पुरुषले गर्छन् र ? भन्नेहरु अहिले मिलेर गर्छौ भन्न थालेका छन्, अधिकृत गुरुङले भन्नुभयो, छोटो समयको कार्यक्रम भएपनि त्यसले व्यवहार परिवर्तन गराएको छ ।’
परियोजना चलेका टोलका बालबालिकाले अहिले हात धुने चरणहरु मज्जाले गर्न सक्छन् । बाहिरबाट जो कोहीले बालबालिकाले हात धुने तरिका गरेर देखाउने गरेका छन् । बीग्रुपले ८० वटा समूह बनाएर स्वच्छता र लैंगिक समानताका कुराहरु अवगत गराएको थियो । बाल्टिन र सावुन दिएको थियो । ‘हामीले दिएको बाल्टिन फुट्यो भने के गर्नु हुन्छ भनेर परियोजनाका कर्मचारीले हामीलाई सोध्नु भएको थियो, लक्ष्मीको जवाफ छ, अब त हाम्रो बानी परिसक्यो, आफैले किनेर राख्छौं ।’
नेउलीडाँडाकी रेश्माले कार्यक्रममा सिकेका कुराले परिवारमा सुधार आएको छ । बालबालिकामा राम्रो प्रभाव परेको बताउनुभयो । रेश्माले अब आफूलाई सानो तिनो रोजगारी दिलाइदिन आग्रह गर्नुभयो । ‘बोल्न नसक्ने महिलाहरु बोल्ने भएका छन् । मलाई नै सानो तिनो काम खोजिदिए गर्थे भन्ने भएको छ, रेश्माले भन्नुभयो ।
गाउँका महिलाको कुरा सुन्दा जीवनोपयोगी साना–साना कुराहरु सिकाउदा पनि घरपरिवारमा राम्रो प्रभाव पर्दोरहेछ, व्यवहार नै परिवर्तन गर्न सकिदो रहेछ भन्ने देखिएको छ । बीग्रुपको सानो सहयोगले गाउँमा राम्रो परिवर्तन भएको छ ।
परियोजनाकी जनस्वास्थ्य प्रवद्र्धन अधिकृत दुर्गा पन्थीले कार्यक्रमपछि महिलाहरु बोल्न सक्ने भएको र घरमा महिला र पुरुषले मिलेर काम गर्न थालेको बताउनुभयो । पन्थीका अनुसार, व्यक्ति, घर अनि टोलमै सरसफाईमा विकास भएको छ ।
परियोजनाका संयोजक प्रकाश शर्माले छोटो परियोजनाले एक हजार घरधुरीका बासिन्दालाई सरसफाई र लैंगिक समानताका सवालमा राम्रो शिक्षा प्रदान गरेको बताउनुभयो । ‘हामीले कोभिडबाट बच्ने उपायलाई फोकस गरेर कार्यक्रम ग¥यौ, अब गाउँका बासिन्दाले हातमात्रै राम्ररी धुदा धेरै रोगबाट बच्न सकिन्छ भन्ने कुरा बुझिसकेका छन्, परियोजना संयोजक शर्माले भन्नुभयो, सरसफाई गर्दा अरु रोगबाट पनि बच्न सकिन्छ । बिरामी हुँदा लाग्ने खर्च घट्छ भन्ने चेतना जागृत भएको छ ।’
दश महिना परियोजना चल्दा टोलवासीलाई ४० लिटरको बाल्टिन, सावुन दिइएको थियो । वडा कार्यालय र स्कूलहरुलाई पनि अटोमेटिक सेनिटाइजर मेसिन, ह्याण्डवास, क्वारेन्टाइन रहेका विद्यालयहरुमा किटनाशक औषधी र छर्ने ट्यांकीलगायत दिइएको थियो ।