झिलीमिलीबाट अँध्यारो हुँदै उज्यालोतर्फको यात्रा
क्रमशः
कोलकाताको रमझम बेग्लै थियो । सबैभन्दा ठूलो त्यहाँ क्रिकेट खेल्ने माहोल थियो । मेट्रो रेलवेको परीक्षणकालीन जागिर पनि जेनतेन चलेकै थियो । एकवर्षे परीक्षणकाल पूरा गर्न सकेको भए स्वतः स्थायी भइन्थ्यो । तर, आठ महिनामै म नेपाल फर्किने निर्णयमा पुगेको थिएँ ।
आमा र दाइ तीन वर्षअघि फर्किसक्नु भएको थियो । भैरहवा र पर्वतको केही जग्गा बेचेर हामीले बर्दियामा जग्गा किन्यौँ । बर्दिया जाने आउने क्रममा कोहलपुरका नारायणप्रसाद सिग्देलसँग आमाको चिनजान भएको रहेछ । उनी रामजानकी इंग्लिस मिडियम स्कुलका सञ्चालक थिए । ठूल्दाइले त्यहीँ जागिर पाउनुभयो ।
आमाले कोहलपुर–२, चटारमा जग्गा किन्नुभयो र २०४८ सालमा त्यहीँ घर बनाउनु भयो । हाम्रो घर भएको चटार अहिले कोहलपुर नगरपालिका वडा नं. १० मा पर्छ ।
आमाको आग्रह टार्न नसकेर २०५० सालमा म नेपाल फर्केको थिएँ । छोरा एक्लै भारतमा बस्दा बिग्रिएला भन्ने उहाँलाई चिन्ता थियो । म फर्किएपछि आमाले जागिरका लागि नारायण सरसँग कुरा गर्नुभएछ । ट्युसन शिक्षकको अनुभव छँदै थियो, २०५० फागुन १५ गते म रामजानकीमा नियुक्त भएँ । २०४२ सालमा खुलेको यो बाँकेको पुरानो निजी स्कुलमा पर्छ । कोहलपुर क्षेत्रको त पहिलो नै थियो ।
त्यसो त म कोलकातामा छँदै पनि नेपाल आएको बेला रामजानकीका विद्यार्थीलाई पढाउँथेँ । उनीहरूसँग खेल्थेँ । कोलकाताबाट कोहलपुर आउँदा मलाई कसोकसो क्रिकेट मैदानबाट घर फर्किएजस्तो लाग्थ्यो । क्रिकेटको नियास्रो मेट्न पनि म स्कुले विद्यार्थीसँग घुलमिल हुन्थेँ । क्रिकेट बल र ब्याट लिएर स्कुल पुग्थेँ ।
सुरुमा मलाई कोहलपुरमा बस्न साह्रै सकस भयो । कोलकाताको झिलीमिलीको तुलनामा कोहलपुर पूरै अँध्यारो लाग्थ्यो । खिदिरपुर पोर्ट एरियामा रात परेकै थाहा हुँदैनथ्यो । २४ घन्टै गाडी चल्थे । मलाई कोलकाता एकदमै गतिशील लाग्थ्यो । परिवारको मायाले कोलकाता बिर्सेर कोहलपुरमा नयाँ पहिचान बनाउन थालेँ ।
कोहलपुर पूर्वपश्चिम राजमार्गमै पर्छ । तर, सडकमा गाडी पातलै देखिन्थे । नेपालगन्ज जान पनि गाडी कुर्नु पथ्र्यो, डेढ घन्टा लाग्थ्यो । यात्रु बोलाउन चोकमा गाडी रोकेर चालकले लामो हर्न बजाउँथे । साँझ ७ नबज्दै चोक बजार सुनसान हुन्थे । एकैछिनमा अँध्यारोले घेथ्र्यो । यस्तो लाग्थ्यो, मेरो मातृभूमिमा अँध्यारा रातहरू लामो र उज्याला दिनहरू छोटा छन् । मलाई समय काट्न गाह्रो भइरहेको थियो । बाल्यकाल र किशोरावस्था कोलकातामै बितेकाले मेरो नेपाली भाषा कमजोर थियो । बङ्गालमा पढेकाले बङ्गाली, हिन्दी र अङ्ग्रेजी राम्रो आउँथ्यो । राम्ररी नेपाली बोल्न नजानेर पनि मलाई घुलमिल गर्न गाह्रो थियो । भारतबाट एउटा साउन्ड सिस्टम (डेक) ल्याएको थिएँ ।
त्यसैमा गीत सुनेर दिन काट्थेँ । रामजानकीमा अङ्ग्रेजी माध्यम भएकाले मलाई पढाउन गाह्रो थिएन । विज्ञान त्यसै पनि अङ्ग्रेजीमै पढाउन सजिलो हुन्छ । नेपालीमा व्याख्या गर्न खोज्दा हिन्दी लबज आउँथ्यो । कोहलपुर आएपछि पनि मैले नियमित क्रिकेट अभ्यास छोडिनँ । कोलकातामा जस्तै दैनिकी सुरु भयो । कोलकातामा बिहान नास्ता खाने र अबेर खाना खाइन्थ्यो । नेपाल फर्किए पनि त्यो जीवनशैली फेरिएन । अहिले आएर बल्ल त्यो बानीमा केही परिवर्तन भएको आभास भएको छ ।
क्रमशः
(एलबी क्षेत्री नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो पुस्ताका खेलाडी हुन् । पहिलो एसीसी ट्रफी (मलेसिया) मा टिम उपकप्तान रहेका उनले दोस्रो एसीसी (काठमाडौं) को कप्तानी सम्हाले । भारतीय शहर कोलकाताबाट क्रिकेट शुरु गरेर ए डिभिजन खेलेका क्षेत्री नेपाल आएर क्लवस्तरीय प्रतियोगिता खेल्दै १९९८ मा राष्ट्रिय टिमको कप्तान भए । उनकै नेतृत्वमा नेपालमा महिला क्रिकेटको उदय भयो । कप्तान १९९८ पुस्तकमा क्षेत्रीले अति राजनीतिले दिशाविहीन बन्न पुगेको नेपाली क्रिकेट, आफ्नो खेल जीवनका अनुभव, संघर्ष र भोगाईलाई उतारेका छन् । क्रिकेट बुझ्न चाहनेका लागि यो पुस्तक बरदान नै सावित हुने विश्वास गरेका छौ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तकको सहलेखन कुमार श्रेष्ठ र सम्पादन जनक नेपालले गरेका हुन् । उक्त पुस्तकको अंश प्रस्तुत गर्ने जमर्को गरेका छौं । हरेक शनिबार क्रमशः प्रकाशन हुने पुस्तक अंश पढ्नका लागि www.sunpani.comलाई लाइक गर्नुहोला । कोहीलाई यो पुस्तक चाहिएमा क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी (९८५१०९३२३४) लाई सम्पर्क गर्न सक्नु हुनेछ ।)