कर्णालीमा बाह्र सय क्षयरोगी, सुर्खेतमा धेरै

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा नेपालमा क्षयरोग र एचआइभी सेवाको पहुँचमा मानव अधिकार र लैंगिक अवरोध न्युनिकरणका विषयमा सरोकारवालावीच अन्तरक्रिया भएको छ ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले समाजबाट अपहेलित विरामीलाई हामी आफैले अपहेलित गरिरहेको पाइन्छ, अपहेलित गर्ने जोसुकैलाई कानुनको भागिदार बनाउने हामी सचेत नागरिकको हो भन्नुभयो ।
जनस्वास्थ्य कार्यलय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतन निधि वाग्लेले आ.व. २०७६÷७७ मा कर्णालीमा एक हजार दुई सय ७० जना क्षयरोगका विरामी भेटिएको र सबैभन्दा धेरै सुर्खेतमा चार सय १६ जना क्षयरोगका विरामी रहेको बताउनु भयो । वाग्लेले अझै पनि विश्व जनसंख्याको एकतिहाई जनसङख्या क्षयरोगको किटाणुको जोखिममा छन् र प्रति वर्ष विश्वमा करिव ८० लाख नयाँ क्षयरोगी थपिने गरेका छन् भने २० लाखको क्षयरोगकै कारण मृत्यु हुने तथ्याङ्क छ ।
नेपाल क्षयरोग निवारण संघ संस्थाका केन्द्रिय सदस्य तथा कार्यक्रमका सभापति सेम शाक्यले अध्यक्षको आसनबाट बोल्दै नेपाल सरकारले जनस्वास्थ्य समस्याको रुपमा रहेको क्षयरोगलाई सन् २०५० सम्म क्षयरोग निवारणका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले क्षयरोग निवारण संस्थाको शाखा सुर्खेतमा ल्याउनलाई तयारी गरिरहेको जानकारी दिनुभयो ।
उहाँले नेपाल सरकारले क्षयरोगको उपचार निःशुल्क गरेको छ भने सन् २०५० सम्म क्षयरोग निर्मुल पार्ने योजनामा छ । ३ हप्ता वा त्यो भन्दा बढि समयदेखि खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा या छाती भारी भइरहेमा, अकस्मात धेरै तौल घटेमा, पसिना आउने धेरै भएर थकान बढि महसुस भएमा नजिकैको स्वास्थ्य चौकी गएर उपचार गर्न गराउन चिकित्सकहरुको सुझाव दिनुभयो ।
नेपाल क्षयरोग निवारण संघ संस्था, बाँकेका पूर्व अध्यक्ष पूर्णलाल चुकेले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै नेपालमा क्षयरोग र एचआइभी सेवाको पहुँचमा मानव अधिकार र लैंगिक अवरोध न्यूनीकरण परियोजनाको विकास गरि नेपालको ७ वटै प्रदेशका ५८ वटा जिल्लालाई समेट्ने गरि कार्यक्रम कार्यान्वयन गरिएको जानकारी दिनु भयो । उहाँले सुर्खेत जिल्लामा संस्थाको शाखा नभएको कारण बाँके जिल्ला शाखाले यो गोष्ठीको आयोजना गरेको हो र सुर्खेतमा संस्थाको शाखा स्थापना र शाखा स्थापना पछि क्षयरोग सम्बन्धि विभिन्न कार्यक्रम गर्न सकिने र क्षयरोग न्युनिकरणमा सहयोग पुग्ने बताउनु भयो ।
गोष्ठीमा क्षयरोग र एचआइभी सेवाको पहुँचमा मानव अधिकार र लैंगिक अवरोध न्युनिकरण परियोजनाका कार्यक्रम अधिकृत टेकेन्द्र भट्टले पावर प्वाइन्टको माध्यमबाट विषय वस्तुका बारेमा प्रस्तुती गर्दै जुन, २०१७ मा एड्स र क्षयरोग सेवामा मनव अधिकारसंग सम्बन्धित अवरोधहरु पहिचान गरि न्यूनीकरण गर्न र यसलाई टेवा पुग्ने के कस्ता कार्यक्रमहरु रहेका थिए भन्ने तथ्य पत्ता लगाउन एउटा आधारभूत मूल्याङ्कन गरिएको थियो र मूल्याङ्कनको आधारमा नेपालमा कार्यान्वयन गरिएको जानकारी दिनु भयो ।
बाँके शाखाका उपसभापति बदरुद्दीन अन्सारीले सञ्चालन गरेको सो गोष्ठीमा विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !