बर्दियालाई जेठसम्ममा पूर्णखोप जिल्ला घोषणा गरिने

बर्दिया – जेठ मसान्तमा बर्दिया जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्ने प्रतिबद्धता गरिएको छ ।
स्वास्थ्य कार्यालय, बर्दियाको आयोजना भएको पूर्ण खोप अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठीमा राजनीतिक दल, सांसद, जिल्ला समन्वय प्रमुख, स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृतहरुले उक्त प्रतिबद्धता गर्नु भएको हो ।
उनीहरुले २०७८ सालको बैशाख मसान्तसम्ममा सबै स्थानीय तहहरुले पूर्ण खोप निर्देशिका बमोजिम पूर्ण खोप घोषणा तथा सुनिश्चितता गरी जेठ मसान्तसम्ममा बर्दिया जिल्लालाई नै पूर्ण खोप जिल्ला घोषणा गर्ने बताएका हुन् । हरेक वर्ष पूर्ण खोप दिपोपनको कार्यक्रम गरी प्रत्येक स्थानीय तहका साथै बर्दिया जिल्लालाई पूर्ण खोप सुनिश्चितता गर्न प्रतिबद्धता गरिएको छ ।
जिल्ला समन्वय समिति, बर्दियाका प्रमुख शंकरप्रसाद थारुको अध्यक्षतामा भएको कार्यक्रममा प्र्रदेश सभा सदस्य तिलक शर्मा, कुलप्रसाद पोखरेल, कविराम थारुको उपस्थिति रहेको थियो ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले भर्चुअलबाट सम्बेधन गर्दै लुम्विनी प्रदेशका ४ वटा जिल्लाहरु बर्दिया, बाँके, कपिलवस्तु, पूर्वी रुकुम जिल्लालाई यस आर्थिक वर्षमा पूर्ण खोप जिल्ला घोषणा गर्ने योजना रहेको र त्यसको लागी प्रदेश सरकार बर्दिया जिल्लाका स्थातीय तहलाई आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताउनु भएको थियो ।
कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय, वर्दियाका प्रमुख गोकर्ण गिरीले गर्नु भएको थियो । उहाँका अनुसार, बर्दिया जिल्लामा हाल २ वर्ष मुनिका वच्चाहरु मध्ये बीसीजी खोप ७९ प्रतिशत, डीपीटी हेपाटाइटिस हिपबी ७६ प्रतिशत, पीसीबी ७८ प्रतिशत, दादुरा रुबेला ७५ प्रतिशत र जापानीज ईन्सेफलाइटिसको खोप ८० प्रतिशतले पाएका छन् । ७८ प्रतिशत वच्चाहरुले मात्र पूर्ण खोप पाएको नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षणले देखाएको छ ।
बर्दिया जिल्लाका बाँसगढी, राजापुर, गेरुवा, बढैयाताल गाउँपालिका, मधुवन, ठाकुरबाबा स्थानीय तहहरु पूर्ण खोप घोषणा भइसकेकाले ती ६ स्थानीय तहमा पूर्ण खोपको दिगोपनाको कार्यक्रमलाई निरन्तरता दिइने र पूर्ण खोप नभएका गुलरिया र बारबर्दिया स्थानीय तहमा पूर्ण खोप अभियानमा वच्चा खोज्दै पूर्ण खोप लगाइने ‘खोज र खोप अभियान’ समेत सञ्चालन गरिने स्वास्थ्य प्रमुख गिरीले बताउनुभयो ।
कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय, वर्दियाका खोप कार्यक्रम तथा कोभिड–१९ फोकलपर्सन नरेश श्रेष्ठले गर्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !