कर्मचारी पंखामा, सेवाग्राही एसीमा

नेपालगञ्ज – कर्मचारी पंखामा अनि सेवाग्राही एसीमा, त्यो पनि सरकारी कार्यालयमा । कतै देख्नु भएको थियो ? बिरलै हुन्छ, यस्ता कार्यालय ।
हो, जिल्ला प्रशासन कार्यालय, बाँकेमा यसरी सेवा दिने तयारी भएको छ । नागरिकता र राहदानीका लागि हुने तँछाडमछाडको लाइनलाई व्यवस्थित गर्न जिल्ला प्रशासन कार्यालयले व्यवस्थित सेवाग्राही कक्ष बनाएको छ ।
नेपालगञ्जका वडा कार्यालयहरुको एक-एक लाख रुपैया सहयोगसहितको ३६ लाख रुपैया खर्च गरेर जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई एसीसहितको बस्ने व्यवस्था मिलाएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सेवाग्राहीलाई सुविधाका लागि व्यवस्थित सेवाग्राही कक्ष बनाइएको बताउनुभयो ।


जिल्ला प्रशासन कार्यालयले व्यवस्थित बस्ने ठाउँ बनाएकाले अब टोकन प्रणाली अपनाएर सेवा दिने तयारी गरेको छ । ‘टोकन लिन्छन् । जसको पालो आउँछ । ऊ अगाडि जान्छ । अरु मजाले बस्छन्, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भन्नुभयो, यसो गर्दा सुविधाले काम हुन्छ ।’
जिल्ला प्रशासन कार्यालयमा नागरिकता र राहदानीका लागि सधैंजसो भीड नै लाग्ने गर्दछ । यो कार्यालयले दिने प्रमुख काम पनि यही हो । नेपालगञ्जमा गर्मीमा अति गर्मी हुन्छ । यस्तो बेलामा प्रशासनमा पुग्ने सेवाग्राहीले भने केही क्षण भएपनि राहत पाउने भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !