चौकीदारदेखि वकिलसम्म : एकछिन नियाल्दा
सफल कानून व्यवसायी लोकवहादुर शाहद्वारा लिखित यो पुस्तक मेरो वुझाइमा जीवन र जगतबारे लेखकका अनुभूतिहरुको शव्द चित्र हो । १८० पृष्ठको यो आद्योेपान्त पढें । कभर पृष्ठदेखि अन्तिम पृष्ठसम्म यो पुस्तक मुद्रणका दृष्टिकोणले सह्रानीय त छदै छ त्यसमाथि यसमा समावेश गरिएका हरेक स–साना घटनाहरु त्यतिवेलाको परिवेश र वातावरण बारेको लेखक शाहको प्रस्तुती कुनै सिद्धहस्त पेशेवर लेखक भन्दा कम छैन ।
कितावको सौन्दर्यीकरण र छपाईमा क्रियटिभ वुक्सको योगदान पनि कम प्रशंसनीय छैन । यस पुस्तकमा समाविष्ट सबै शीर्षकहरुले हरेक उमेरका पाठकहरुलाई आकर्षित गर्न अवश्य नै सफल हुनेछ भन्ने मलाई लागेको छ । म भौतिक रुपमा अछाम पुगेको छैन । यद्यपी अछामी साथीहरुसँगको हिमचिम भनै लगभग पाँच दशकदेखि नै छ । देशका कुनै भेगका दश बीस जनासँग परिचय हुँदैमा सो भेगको बारेमा जानकारी प्राप्त हुन्छ भन्ने छैन । तर, लोकबहादुर शाहद्वारा लिखित यस पुस्तकले अछाम, अछामी समाज र विषेश गरि त्यहाँका महिला, बालबालिका र दलितमाथि गरिने विभेद र घरेलु हिंसाबारे बुझ्नमा मद्दत गरेको छ ।
यस पुस्तकमा समावेश गरिएको शीर्षक ‘छाउगोठमा हुर्केको पुस्ता’ (पेज २५) ले अछाम लगायत त्यस भेगमा रहेको सामाजिक विकृतिबारे सरल भाषामा दस्ताबेजीकरण गरी जनसमक्ष्य ल्याउन सफल भएको मेरो बुझाई छ । हरेक उपल्लो जातीका भनिने समाजमा रजस्वला भएकी महिलालाई गरिने व्यवहार लगभग यस्तै यस्तै हुने गरेका छन् । यद्यपी यसलाई व्यवस्थापन गर्ने जिम्मेवारी हरेक घरको हो । जसलाई निःसन्देह व्यक्तिको आर्थिक हैसियतले निर्धारण गर्ने गर्दछ । फरक यति मात्र हो कि अछामका अधिकाश छाउगोठहरु मानिस बस्ने लायक देखिएनन् । त्यसैले आजको सभ्य भनिने समाजका पुरुषहरुले यसको उचित व्यवस्थापनतर्फ ध्यान दिनु आवश्यक छ ।
‘हटारु क्याराभानको सम्झना’ (पेज ४०) भन्ने शीर्षकले पनि तात्कालिन अवस्थाको ग्रामीण यातायात सञ्चारको अवस्था अनि आफ्नो परिवारलाई वर्षभरी चाहिने मट्टितेल, नुन र मरमसला आदीको जोहो गर्न हिड्ने जमात र सो यात्रा भर तिनको दैनिकी अनि भोक प्यासबाट गलेको लाचार शरीरले भोगेका दुःख कष्टका वर्णन पढ्दा आफै माथि घटेकको घटनाको वर्णन त हैन जस्तो लाग्छ । किनभने, तराईका केही जिल्ला छोडेर बाँकी भित्रि मधेश र पहाडी भेगमा बस्ने हरेक नेपालीको भोगाई यस्तै छ । फरक यति मात्र हो कि यी वस्तुहरुका लागि कुनै भेगका मानिसले लामो कष्टकर यात्रा गर्न पथ्र्यो भने कतै यो यात्राको अवधी छोटो र कम कष्टकर अनि कम जोखिमयुक्त हुने गथ्र्यो ।
यसका अतिरिक्त ‘एसएलसी दिएर दिल्लीतिर बरालिदा’ (पेज ४३) पनि कम सन्देशमुलक छैन । यस शीर्षकमा लेखकले भरखरै एसएलसी उत्तीर्ण भएको एउटा विद्यार्थीको पढ्ने उत्कट अभिलाशा र सो मार्गमा आइपर्ने अनेकन बाधा र अवरोधबारेको चर्चा अनि गरिवीका कारण रोजीरोटीको खोजीमा भारत पसेका नेपालीहरुको दिन चर्याकाबारे उल्लेख छ । कलिलै उमेरमा भारतको दिल्लीमा काम गर्दा बखत मालिकबाट हुने तितो, मिठो, उच, नीच जस्ता व्यवहारले लोकबहादुर शाहलाई पनि श्रमप्रति आदर भाव जगाउन सफल भयो । सम्भवतः यसले गर्दा लोकबहादुर शाहलाई श्रमको महत्व र यसको आदर गर्न सिकायो होला ।
यसका अतिरिक्त ‘आइए बीए पढौला, हेलिकप्टर चढौला’ (पेज ५३) भन्ने शीर्षक अन्तर्गत लेखक शाहले त्यो उमेर वर्गको प्रतिनिधित्व गर्दै त्यो वर्ग समूहका युवाहरुको चाहना र इच्छालाई प्रतिविम्बित गरेको छ । यस लेखमा नजानिदो किसिमले समाजमा प्रतिष्ठित हुनका लागि शिक्षाको महत्व र अपरिहार्यतालाई समेत औल्याएको छ भने ‘अनि मैले मदिरा छोडे’ (पेज ७२) मा लेखकले मदिरा सेवनबाट हुने पारिवारिक विघटनको स्थिति र त्यसबाट व्यक्ति र परिवार (त्यस माथि महिलालाई बेसी) लाई पर्ने आर्थिक क्षति, सामाजिक मर्यादाका कुराको चर्चा पनि छ ।
मदिरा सेवनको अभावमा मित्रहरुको संख्यामा देखापर्ने कमि अनि जोई सित डराएर नपिएको भन्ने जस्ता आरोप खेप्नु पर्ने बाध्यताको पनि सरल र मिठो भाषामा प्रस्तुत गरिएको छ । यस्तै ‘तीन वर्ष मुल्तवीमा परेको विवाह’ (पेज ८०) भन्ने खण्डमा लेखकले, अभिभावक गुमाइसके पछि त्यसवाट जीवनका हरेक क्षेत्रमा पर्ने नकारात्मक प्रभाव र काममा हुने ढिला सुस्तिका सम्वन्धमा आफ्ना वास्तविक भोगाईहरुलाई अभिव्यक्त गर्नु भएको छ ।
हरेक युवामा विवाह गरेर ल्याइसके पछि श्रीमतीलाई कहाँ राख्ने, कता बस्ने, कसरी घर खर्च चलाउने जस्ता कुरा उसको मनमा खेलिराखेका हुन्छन् । जसको प्रत्यक्ष चित्रण यस खण्डमा लोकबहादुर शाहले गर्नु भएको छ । यसका अतिरिक्त ‘मुटु चुडाल्ने ती दुःखद क्षण’ (पेज ९१) मा आफ्नो विवाह बुवाले हेर्न नपाउनुको पीडा छ भने अर्कोतिर बुवाको मृत्युको पीडाबारे उल्लेख छ । बुवाको मृत्यु एकातिर छ भने अर्कोतिर समयमै दुखमा घर पुग्न नपाएको पीडाको वर्णन हरेकलाई पिरोल्ने खालको छ । बुवा, भतिज नरेन्द्र र सासु आमाको मृत्युको वर्णन पढ्दा धेरैका आँखा रसाउन सक्छन् । किनभने हरेकका जीवनमा आफन्तिलाई गुमाउनु पर्दाको पीडा एकैएकै खाले हुन्छ । यी र यस्तै पीडाहरु माझ ‘सन्तान सुखपछिको व्यथा’ (पेज १०३) मा सन्तान प्राप्ती पछि पत्निको स्वास्थ्यको कारणले केही दिन मानसिक तनाव खेपे पनि वितेका दिनका दुखकष्ट र अभावहरुलाई सजिलैसँग पन्छाउदै बाँकी जीवन सुखमय वनाउन लेखक शाह लागि परेको देखिन्छ ।
लेखक लोकबहहादुर शाहद्वारा लिखित पुस्तकको अन्तिम भागमा कुनै पनि व्यावसायमा आउने उतार चढाव चुनौती र अवसरबारे उल्लेख गरिएको छ । जस अन्तर्गत कानून व्यवसायीको महत्वपूर्ण अंश बहस बारे ‘मेरोे पहिलो बहस’ (पेज ११३) शीर्षक अन्तर्गत कुनै पनि पेशामा प्रवेश गर्ने व्यक्तिले व्यहोर्नु पर्ने समस्या र अपहेलनाका सम्बन्धमा चर्चा गरिएको छ । हरेक व्यक्ति आफ्नो पेशामा सफल हुनका लागि उसले अनगिन्ति समस्याहरुसँग जुध्न जान्नु र जुध्न सक्नु पर्छ भन्ने सन्देश दिएको छ भने ‘बार राजनीतिमा हारजित’ (पेज १३३) ‘व्यावसायिक तीतो मिठो’ (पेज १४३) भन्ने शीर्षक अन्तर्गत व्यवसायमा आइपरेका अप्ठेराहरु, धम्की, चाकडी र चाप्लुसी जस्ताकुराले न्यायीक क्षेत्रमा पारेको नकारात्मक प्रभाववारे संक्षिप्त र मिठो शैलीमा वर्णन छ । ‘व्यावसायिक तीतोमीठा’ अन्तर्गत विभिन्न घटनाक्रमहरु लोडसेडिङ वकिल, (पेज १४४) ‘हुट हटाउने त्यो आदेश’ (पेज १४८) ‘महन्तको श्राप’ (पेज १५१) ‘हातखुट्टा भाचिदिने धम्की’ (पेज १५८) ‘सम्पति शुद्धीकरणमा वयान’ (पेज १६३) ‘पार्वती वलीको सुसाइट नोट’ (पेज १६४) जस्ता घटनाहरुको समावेश गरिएबाट पनि यो पुस्तक सवै व्यवसायीहरुका लागी पठनीय र मननीय रहेको मैले बुझेको छु ।
लेखकद्वारा लिखित यो किताव दोस्रो हो जस्तो लाग्दैन । किन भने शव्दचयन र लेखन शैलीका हिसावले प्रस्तुत पुस्तकमा लेखक परिपक्व लेखकका रुपमा देखापरेका छन् । जे सुकै व्यवसाय जहाँसुकै बसेर गरेता पनि आफ्ना वाल्यकालका भोगाईहरु अनि समकालिन सामाजिक परिवेशबारेको लेखकको बुझाई र ठम्याई प्रशंसनीय छ । अन्तमा लेखकलाई आफ्नो पेशाका अतिरिक्त लेखनमा समेत समान सफलता प्राप्त होस् मेरो शुभकामना छ । अस्तु ।
– भृकुटीनगर, १० बाँके ।