मेयरको कुराले स्वास्थ्यकर्मी मख्ख

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाहरुको आर्थिक वर्ष २०७६-७७ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई बुधबार सम्बोधन गर्दै प्रमुख राणाले नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत स्वास्थ्य शाखा र स्वास्थ्यकर्मीले कोरोना महामारीका समयमा उत्कृष्ट काम गरेको बताउनुभयो ।
‘महामारीको समयमा कुनै गुनासो नगरी काममा खटिनुभयो, डा. राणाले भन्नुभयो, व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर तपाईहरुले जनहितमा गर्नुभएको कार्य आफैमा महान छ ।’ उहाँले कोरोनासँगै अन्य रोगहरु फैलिन नदिनका लागि तयारी अवस्थामा रहन आग्रह गर्नुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले लगायतले विगतका त्रुटी सच्चाउँदै भविष्यको बाटो देखाउने गरि समीक्षा गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले विगतको कार्यक्रमको उपलब्धी र त्रुटीमा छलफल भई तथ्यमा आधारित भई आगामी योजना बनाउने उद्देश्यले समीक्षा गोष्ठी आयोजना गरिएको जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !