दशैंविशेष सुरक्षा योजना : प्रहरीका १६ प्रकारका डिउटी
नेपालगञ्ज – बाँके प्रहरीले चाडबाडलक्षित १६ प्रकारका डिउटी शुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी ओमबहादुर रानाले चाडबाडलाई लक्षित गरेर एम्बुसिङ, गस्ती, सिसी टिभी निगरानीदेखि घटना हुनसाथ प्रहरी पुग्ने गरी कार्ययोजना बनाएर डिउटी शुरु गरेको जानकारी दिनुभयो ।
प्रहरीले हाइवेमा विभिन्न ठाउँमा चेकिङ, जिल्लाका आठ ठाउँमा सहायता कक्षलगायतका कार्ययोजना बनाएको छ । दशैंका बेलामा भारतबाट घर आउनेहरुलाई सुरक्षित घर पठाउन प्रहरीले विशेष निगरानी गरेको छ । एसपी रानाले नाकामा हुन सक्ने लुटपाट र अपराधलाई रोक्न भारतीय प्रहरीसँग पनि छलफल गरिएको बताउनुभयो ।
प्रहरीका अनुसार, ७० प्रतिशत बढी अपराध लागु औषधका कारण हुने गर्दछ । प्रहरीले लागु औषधीविरुद्ध आक्रमक कारबाही अभियान चलाएको एसपी रानाले बताउनुभयो ।
नेपालीहरुको महान पर्व दशैंमा घरहरु खाली हुने र त्यसमा चोरीको जोखिम हुने गर्दछ । यस्तोमा प्रहरीले विशेष निगरानी गर्ने जनाएको छ ।